menu

ताजा समाचार

सिके राउत धरपकडको कलाहीन नाटक

सिके राउत नामको पात्रले अहिले जे गरिरहेको छ, यो उसको बलबुता अथवा ऊ एक्लैको योजना मात्र नभएर सारतः यो भारतीय विस्तारवाद तथा युरो-अमेरिकी योजनाबद्धताको उपज हो भन्ने कुरा अब आएर थप प्रस्ट भएको छ ।  राउतलाई नेपाल विरोधी गतिविधि गर्न सबैभन्दा पहिले सबै किसिमको सुविधा र वातावरण त्यतिबेलाका प्रधानमन्त्री बाबुराम भट्टराईले मिलाएका थिए भन्ने कुरा पनि सबैलाई थाहा छ । सरकारमा छँदै उनले गोप्य किसिमले भेटेर यस कार्यका लागि मलजल प्रदान गरेका थिए ।  प्रधानमन्त्रीबाट हटेपछि पनि उनले सिके राउतको विखण्डनकारी क्रियाकलापको समर्थनमा अभिमत जाहेर गरेका थिए l  सो वक्तव्य अहिले पनि सञ्चारमाध्यममा चर्चा र टिप्पणीको विषय बनेको छ ।

वैधानिक कार्यक्रमको पोस्टर टाँस्ता, स्वैच्छिक चन्दाका लागि खुला चन्दा अभियान चलाउँदा र भ्रष्टाचारीमाथि कारबाही गर्दा हिरासतमा राखेर मुद्धा चलाउने यो प्रतिक्रियावादी सरकार सिके राउतलाई बढीभन्दा बढी मान्छे जम्मा पारेर खुलेआम देश विखण्डन गर्ने र भारतमा मिलाउने भाषण गर्छ छुट दिन्छ भने अपराधी सिके राउत नभएर उसलाई सुरक्षा प्रदान गरेर त्यस किसिमको भाषण गर्ने वातावरण मिलाउने यो प्रतिक्रियावादी सरकारका प्रधानमन्त्री, त्यसमा पनि गुहमन्त्री विमलेन्द्र निधीहरू अपराधी हुन् भनेर प्रस्टताका साथ भन्नुपर्ने हुन्छ । पक्राउ गर्नुपर्ने मान्छेलाई गृहमन्त्रीको निर्देशनबिना त्यसरी भाषण गर्ने वातावरण बन्न सक्तैन । जुन उद्देश्य पूरा गर्न उनलाई भारतीय निर्देशन थियो, उनी त्यसै गरिरहेका छन् आदेशपालक बनेर ।
 
सबैलाई थाहा छ, अहिलेको सरकारको डिजाइनर भारत हो र महरा, निधी र वर्षमानले यसमा प्रमुख प्यादाको भूमिका खेलेका थिए । भारतको निर्देशनमा निधीलाई गृहमन्त्री बनाएको कुरा देउवा आफैँले  घोषणा गरिसकेका छन् । यस अर्थमा निधी सरकारमा बसेर मुलुक टुक्रयाउने कार्यका लागि भारतीय आदेशपालकको भूमिका खेलिरहेका छन् भन्ने कुरा  प्रस्ट छ ।

नेपाल विरोधी गतिविधि गर्दैआका कथित मधेसवादी नेताहरू, महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव सिके राउत लगायत पूर्व तथा वर्तमान भारतीय राजदूत  र ‘र’ का मान्छेहरू भारतको पटनामा पुस १९ मा बसेर बनाएको योजनाकै एउटा रूप थियो लाहानमा सिके राउतको भाषाण । यसका  साथै महन्थ ठाकुरले “नेपाल टुक्रयाउने” भनेर जतिबेर पनि दिनेगरेको धम्की पनि यसैको उपज थियो l महन्थ ठाकुर भारत बोलेको रहेछ  भन्ने कुरा प्रस्ट भएको छ l रामराजा सिंहले बाहिर ल्याएको २०६४ सालको योजनाबद्धता र षड्यन्त्रको नयाँ अभ्यास भइरहेको र यसमा प्रचण्ड- बाबुराम र निधीहरूसमेत  सक्रिय भयेको कुरा खुलस्त भएको छ

यी सबै कुराको जानकारी विमलेन्द्र निधीलाई भएको र सरकार र सुरक्षा निकायलाई समेत उनले जानकारी नदिएको कुरा पनि सार्वजनिक भइसकेको छ । यसबाट निधी स्वयम् राष्ट्रिय सुरक्षा सूचना र गोपनीयताका लागि खतरा बनेको कुरा प्रस्ट छ । प्रधानमन्त्री प्रचण्डले समेत यसलाई गम्भीरतापूर्वक नलिनु थप रहस्यको विषय भएको छ । सरकारमा प्रचण्ड, निधी र महराले सघाउने, बाहिरको वैधानिक मोर्चा महन्थ ठाकुर उपेन्द्र यादबहरूले सम्हालने र अवैध गतिविधिको मोर्चा राउतले समाल्ने भन्ने कुरा पहिले नै सार्वजनिक भएको हो l परन्तु सरकारमा बसेकाले नै यसलाई “थाहा छैन” भन्छन् भने “सुरक्षा निकायसित बुझ्ने” भनेर टार्छन् भने यो कुरा आफैंमा रहस्यमय छ ।  वास्तवमा अहिले सरकारमा बसेकाहरू नै सिके राउतले गठन गर्ने भनिएको  ‘लाल मधेस सेना’ को संरक्षक हुन् भन्दा केही फरक नपर्ने स्थिति उत्पन्न भएको छ l

पुस १९ गते भारतको पटनामा भएको भेला र निर्णयबारे प्रधानमन्त्री निवास र राष्ट्रपतिसमक्ष जानकारी गराइएको य सूचना सही थियो र सरकार उल्टै ढाकछोप गरिरहेको थियो भन्ने कुरा अब जति लुकाए पनि लुक्ने स्थिति छैन । पटनामा भएका निर्णयहरू भनेर  अनलाइनहरूले समाचारहरूले सबै कुरा  बाहिर ल्याइसकेका छन् l

१) मधेसमा रहेका सम्पूर्ण शक्तिहरु, मधेसी पार्टीहरु मधेसी अगुवा तथा बुद्धिजीवीहरु मिलेर महागठबन्धन निर्माण गरी मधेस विद्रोहमार्फत स्वतन्त्र मधेसको नारा अगाडि सार्ने र सशस्त्र आन्दोलन गर्ने ।  २) उक्त सशस्त्र आन्दोलन २०७४ साल बैशाख १ गतेदेखि सुरु गर्ने ।  ३) माघ महिनाको दोस्रो हप्तादेखि फागुन महिनाको अन्तिमसम्म भारतीय भूमिबाट हात हतियार, विष्फोटक पदार्थ तथा बन्दोबस्तीका सामानहरु नेपालको मधेसको भूमिमा भण्डारण गर्ने र डेढ महिनाको उक्त समयमा मधेसी दलहरुको पोजिसन स्पष्ट पार्ने र आ-आफ्नो पकडमा रहेका मधेसी दलहरुका युवा तथा सशस्त्र समूहको युवालाई एकत्रित गर्ने । मधेसी सशस्त्र युवाहरुलाई भारत र नेपालको विभिन्न स्थानमा फौजी तालिम गराउने । ४) डेढ महिनाको अवधीमा मधेसका विराटनगर, राजविराज, जनकपुर, बीरगञ्ज, भैरहवा र नेपालगञ्जमा सेल्टरहरु स्थापना गर्ने । ५) अव हुने मधेस विद्रोहमा मधेसबाट पूर्णरूपमा पहाडी समुदायका ब्यक्तिहरूलाई विस्थापित गरी उनीहरुको घरजग्गा कब्जा गरी मधेसको २० जिल्लाहरू  मिलाएर स्वतन्त्र मधेस राज्य घोषणा गर्ने । ६) उक्त मधेस विद्रोहमा अगाडिबाट सीके राउत, जयकृष्ण गोइत, ज्वाला सिंहले नेतृत्व गर्ने र पछाडिबाट राजेन्द्र महतो, महन्थ ठाकुर, जयप्रकाश गुप्ता, महेन्द्र यादव, उपेन्द्र यादव, राजकिशोर यादव, शरदसिंह भण्डारी लगायतका नेताहरुले आन्दोलनकारी र सरकारबीच मध्यस्थ्कर्ताको भूमिकामा देखा परिरहने । ७) मधेस विद्रोहमा परिचालित हुने सैन्य दस्तालाई 'लाल मधेस सेना' को नामबाट नामाकरण गर्ने । ८) जबसम्म नेपाल सरकार भारतसँग घुँडा टेकेर सबै प्रकारका सम्झौता र समझदारीको लागि गोलमेच सम्मेलन गरी भारतमा भएको १२ बुँदे सम्झौताअनुसार नै एउटा सर्वपक्षीय सम्झौता गर्न तयार हुँदैन, तबसम्मको लागि मधेस विद्रोह परिचालन गरिरहने । ९) एक हजार भारतीय झण्डा मधेसका विभिन्न गाउँमा बाँडेर देखा पर्नेगरी झुण्ड्याउने ।

नौवटा बुंदामा गरिएका निर्णयहरूमा भारतबाट हतियार ल्याउने, सेना बनाउने, पहाडियाहरूलाई तराईबाट धपाउने, र भारतीय झन्डा तराईमा गाड्ने सम्मका निर्णयहरू छन् l २०६४ को  कथित मधेस आन्दोलनमा पनि तराई, खास गरेर पूर्वी तराईमा भारतीय झन्डा गाडिएका थिए  l वास्तवमा सारै खतरनाक, नेपालको सार्वभौम सत्ता भारतलाई सुम्पने निर्णय यसमा छन् l कतिपय कुरा सिके राउतले आफ्नो वेबसाइट लगायत विभिन्न माध्यमहरूमा भन्दै आएका कुरा भए पनि अब आएर यसले भारतीय योजनाको आकार र एक्सन लिएको कुरा प्रस्ट छ 

यसबाट को को मधेसिया तथा पहाडिया नेताहरू नेपाल विखण्डन 'अभियान'मा सक्रिय रहेछन् भन्ने कुरा प्रस्ट भएको छ l देउबा-निधीको त कुरै छाडौं, माओवादी नामधारी प्रचण्ड- बाबुरामका साथै महरा-वर्षमानको अनुहार पनि सतहमा आइसकेको छ l अहिलेको संबिधान संसोधन पनि त्यसैको अंश रहेछ भन्ने कुरा पनि सबैले बुझ्ने गरी प्रस्ट भएको छ l राष्ट्र विखण्डन गर्ने अपराधीहरू नै सरकारमा छन् भने उनीहरूमाथि कारवाहीका लागि जनता स्वयं आउनुपर्ने अवस्था मुलुकले व्यहोरिरहेको अवस्था होइन र ?

डा. ऋषिराज बराल
०००

भिडियो फिचरview all