menu

ताजा समाचार

विश्वदृष्टिकोणको महत्त्व : चिनियाँ कम्युनिस्ट पार्टी

आफ्नो विश्वदृष्टिकोणलाई पुनर्ताजगी गर्ने प्रश्न कम्युनिस्टहरूका लागि पार्टीमा वैचारिक हिसाबले पूराका  पूरा लागिपर्ने प्रश्न हो । अध्यक्ष माओले हामीलाई सिकाउनु भएको छः “संसार बदल्नका निम्ति सर्बहारा वर्ग र क्रान्तिकारी जनताले गर्ने सङ्घर्ष यी कामहरू पूरा गर्नुमा रहेको छ—वस्तुगतजगतलाई बदल्नु र साथै आफ्नै आत्मगतजगतलाई बदल्नु — आफ्नो संज्ञानात्मक क्षमतालाई बदल्नु र आत्मगत तथा वस्तुगत जगतका बीचको सम्बन्धलाई बदल्नु” । वस्तुगतजगत समाजजस्तै अनन्त प्रगतिमा छ । समाजवाद निर्माणको काम हाम्रो देशमा जति छिटो अगाडि बढ्रछ, कम्युनिस्टहरूले आफ्नो आत्मगत जगतलाई बदल्नुपर्ने आवश्यकता त्यो भन्दा बढी हुन्छ । साथै, हामीले यो मान्नै पर्दछ कि समाजवादी कालभरि वर्गहरू र वर्गसङ्घर्ष रहिरहने हुनाले पुँजीपति वर्गले हरसम्भव उपायद्वारा प्राप्त सबै साधनलाई प्रयोग गर्दै हाम्रा पार्टी सदस्यलाई भ्रष्ट बनाउने आशामा आफ्नो कुहेको र बासी विश्वदृष्टिकोण र जविनशैलीलाई विस्तार गर्न खोजिरहन्छ । यदि कम्युनिस्टहरूले यसका विरुद्ध आफ्नो सतर्कतालाई खुकुलो पारे र यसको विरोध गरेनन् भने तिनीहरू सर्बहारा वर्गका उन्नत तत्व बनिरहन सक्दैनन् । त्यसकारण कम्युनिस्टहरूले निष्ठापूर्वक अध्ययन गर्नुपर्दछ, मार्क्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधारालाई राम्ररी आत्मसात गर्नुपर्दछ,  महान क्रान्तिकारी सङ्घर्षहरूमा सक्रिय रूपमा भागलिनु पर्दछ आफ्नो विश्वदृष्टिकोण बदल्न कडा परिश्रम गर्नुपर्दछ ।

निष्ठापूर्वक हाम्रो विश्वदृष्टिकोणलाई बदल्न र बैचारिक हिसावले पार्टीप्रति पूर्ण समर्पित हुनका लागि हामीले मार्क्सवादी–लेनिनवादी शास्त्रीय ज्ञानको र अध्यक्ष माओका कृतिहरूको कष्टसाध्य अध्ययन गर्नैपर्दछ । मार्क्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधारा, वस्तुगत तथा आत्मगत जगतलाई बदल्ने सबैभन्दा धारिलो वैचारिक हतियार हो । वस्तुगत जगतलाई बदल्ने क्रममा हामी कम्युनिस्टहरूले आफूलाई माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधाराद्वारा दृढतापूर्वक सशस्त्र गर्नुपर्दछ र क्रान्तिलाई निरन्तरता दिन र प्रगति गर्न हामीले आफ्नो आत्मगतजगतलाई बदल्न प्रयत्न गर्नुपर्दछ । “पानीजहाज बन्दरगाहमा आएको छ र ट्रेन स्टेसनमा” भन्ने अर्धक्रान्तिकारी विचार गलत छ । एउटा कम्युनिस्टका लागि उसले आफुलाई प्रशस्त मात्रामा रूपान्तरण गरेको छ र अब रूपान्तरणको आवश्यकता छैन भन्ने सोच्नु पनि गलत हो । नेतृत्वस्थानमा रहेका कम्युनिस्टहरूले विशेषतः आफ्नो आत्मगत जगतलाई बदल्न गम्भीर किसिमले ध्यान दिनुपर्दछ । तथ्यहरूले देखाएका छन् कि पार्टीको राजनीतिक कार्यदिशा तथा सिद्धान्तहरूलाई लागू गर्ने कमरेडहरूको क्षमता, समाजवादी बाटोमा लागिरहने दृढता र पार्टीको जुझारु कार्यभारलाई अगाडि बढाउन नेतृत्व गर्ने एकाइहरूको सफलता सबै आफ्नो आत्मगत जगतलाई बदल्न तिनीहरूले पालना गर्ने शैलीमा प्रत्यक्ष निर्भर गर्दछ । यसरी सर्बहारा वर्गको अधिनायकत्वअन्तर्गत क्रान्तिलाई निरन्तर अगाडि बढाउन सक्ने नमुना नेता बन्नका लागि यी कमरेडहरूले मार्क्सवादी–लेनिनवादी शास्त्रीय ज्ञान र अध्यक्ष माओका रचनाहरू अत्यन्त सतर्कताका साथ अध्ययन गर्नुपर्दछ, जनताका विचारलाई राम्रो सँग सुन्न सक्नुपर्दछ र आफ्नो विश्वदृष्टिकोणलाई बदल्न कडा परिश्रम गर्नुपर्दछ ।

हाम्रो विश्वदृष्टिकोणलाई निष्ठापूर्वक बदल्न र पार्टीप्रति वैचारिक रूपले पूर्ण प्रतिवद्ध रहन हामी वर्गसङ्घर्ष, उत्पादनका निमित्त सङ्घर्ष र वैज्ञानिक प्रयोगका तीन महान क्रान्तिकारी आन्दोलनमा हाम फाल्नु पर्दछ र यी सङ्घर्षहरूको प्रक्रियामा हाम्रो विश्वदृष्टिको बदल्न प्रयत्न गर्नुपर्दछ । तथ्यहरूले देखाउँछन् कि वर्गसङ्घर्ष र दुई लाइन सङ्घर्षमा सबैभन्दा अगाडि उभिएर मात्र हामीले समाजवादी समाजमा वर्गसङ्घर्षका विशेषता तथा नियमहरूलाई पक्डिन, तीनलाई प्रयोग गर्न र सच्चा मार्क्सवादबाट नक्कलीलाई छुट्याउनका निम्ति हाम्रो क्षमता बढाउन सक्नेछौँ । विश्वदृष्टिकोणलाई बदल्ने प्रश्नमा लिउ साओ चीले “स्व–अध्ययन”को कुरा उठायो र “आफैँलाई सानो कोठामा बन्द गर्ने” कुराको वकालत गर्यो  । लिन पियाओले “हाम्रो भित्री आत्माबाट क्रान्ति सुरु गर्न” आवश्यक छ भन्ने तर्क अगाडि सार्यो । यो बकवासले सामाजिक व्यवहारको महत्व र आफ्नो विश्वदृष्टिकोणलाई बदल्न मार्क्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधाराको अध्ययनको महत्वलाई पूर्ण निषेध गर्दछ, यो विशुद्ध आदर्शवादी पूर्वानुमानवाद  हो । हामीले यी भ्रमहरूको कडा आलोचना गर्नुपर्दछ र सर्बहारा वर्गको विलक्षण योद्धा बन्नका निमित्त सक्रियतापूर्वक तीन महान क्रान्तिकारी आन्दोलनको अभ्यास गरेर हाम्रो दृष्टिकोण बदल्न प्रयत्न गर्नुपर्दछ ।
                
अध्यक्ष माओले हामीलाई सिकाउनु भएको छः “समाज विकासको वर्तमान युगमा विश्वलाई ठीक ढङ्गले बुझ्ने र बदल्ने जिम्मेवारी इतिहासले सर्बहारा वर्ग र यसको पार्टीको काँधमा सुम्पिएको छ ।”  हामी कम्युनिस्टहरूले हाम्रो आत्मगतजगतलाई रूपान्तरण गर्न, क्रान्ति सम्पन्न गर्न, अध्ययन गर्न र आफैँलाई बदल्न सम्पूर्ण जीवनभरि निकै कडा प्रयत्न गर्नुपर्दछ । अध्यक्ष माओको क्रान्तिकारी कार्यदिशालाई सधैँ अनुसरण गर्दै हामीले साम्यवाद प्राप्तिको गौरवपूर्ण उद्देश्य पूरा गर्न सङ्घर्ष गर्नैपर्दछ ।

भिडियो फिचरview all