menu

ताजा समाचार

रोल्पामा जलेको लालभन्ज्याङ

ऋषिराज बराल
 चैत १६, २०६२
अहिले  म रोल्पाको थवाङमा छु । सामनाको पश्चिम टोलीका साथीहरू  यहाँ सांस्कृतिक कार्यक्रम देखाउने तरखरमा हुनुहुन्छ । मेरा पुस्तकहरू फेरि लालभन्ज्याङमा उभिएरनयाँ संस्कृति पत्रिका आधारइलाकाभित्र प्रवेश गरेछन् । गाइँगुइँ सुनिँदैछ र खासखुस पनि चल्दैछ । पहिरो गएजस्तो भएको छ यता । मलाई देख्दा कतिपयको अनुहार खुम्चिएको बोध गरेको छु । कसैले मलाई खेख्नेबित्तिकै मुन्टो बटारेको पनि मैले अनुभूत गरेको छु ।

चैत १७, २०६२
आन्दोलनका कुरा आएका छन् र सबैजना ढाडमा टेकेर टाउकामा हान्न सदरमुकामको वरिपरि जाने कुरा पनि आएका छन् । मोर्चालाई विशेष जिम्मा आएको छ । दाङ सदरमुकामको वरिपरि घेरा गर्ने जिम्मा आधारक्षेत्रलाई परेको छ । यसै क्रममा यताका सबै साथीहरू दाङ र रोल्पाको सिमाना मुर्कुटी नजिक जाने निर्देशन आएको छ । कमरेड कान्छाबहादुरको पनि उपस्थिति हुने कुरा छन् । कोमलजी (कोमल बराल),  खिमलालजी लगायत सबै साथीहरू जुमाराङ्सीबाट उता लागे । मलाई  पनि त्यतै जाने निर्देशन आएको छ ।  समय र स्थिति मिलेमा खिमलालजीको म्याडम लक्ष्मीसित सवितालाई पनि त्यतै गण्डकतिर बोलाउने  सोचाइ छ ।

कुराहरू गाइँगुइँबाट खुलेरै आएका छन् । नयाँ संस्कृतिमा छापिएको मेरो लेख ‘नयाँ सत्ता र नयाँ संस्कृति’, मूल्याङ्कनमा छापिएको कथा ‘प्रति+आगमन=प्रत्यागमन’ र पुस्तक फेरि लालभन्ज्याङ्मा उभिएर, त्यसमा पनि ‘बड्डा मैले बनाएको बिम्ब गल्र्यामगुर्लुम भयो’ शीर्षकको शब्दचित्रलाई लिएर निकै खैलाबैला मच्चिएछ । के के भए छ के के । कुमार शाहले किताब वितरण गरेकोमा हप्काइ खाएको र वितरण गर्न बन्द गरेको कुरा पनि सुनाउनुभयो ।
हो, मैले अलिकति मात्रै कोट्याएको थिएँ । मैले त सचेतकको भूमिका पूरा गर्न खोजेको मात्र थिएँ । मैले ‘क्रान्तिभित्र क्रान्ति’  ‘आफनै टाउकामा पहिले आफैँले आगो लगाउने’ मर्म र मूल्यलाई छुन खोजेको मात्र थिएँ । मेरो उद्देश्य सचेतात्मक थियो—ध्वंसात्मक होइन । चुनवाङ बैठकको शुद्धीकरण योजनाप्रति ध्यानाकर्षण गराएको मात्र थिएँ  । विरोध होइन,  यसो औँल्याएको मात्र थिएँ । ‘क्रान्ति मुखमुख त प्रतिक्रान्ति घाँटीघाँटी’ भन्ने भनाइप्रति सचेत गराएको मात्र थिएँ, त्यो पनि निबन्ध,  लेख र कथामार्फत । समग्रलाई नभएर  अंशप्रति चिमट्दै र खवरदारी गर्न खोजेको थिएँ । मेरो अभिप्राय र नियतमा नकारात्मता र ध्वंसात्मकता थिएन र छैन । तर ठूलो भुइँचालो गएछ । खेलाबैला मच्चिएछ । के के न भएजस्तो, गरेजस्तो भएछ ।

चैत १८, २०६२
अरूहरूले, कोमलजी र खिमलालजीले सामान र पुस्तकहरू जुमाराङ्सीमै छोड्नुभयो । मैले चाहिँ उता असारे दिदीकोमा छोडेँ । पछि फर्केर आउँदा कता हुइने हो, फेरि पाइन्छ कि पाइँदैन भनेर । दिल्ली, लखनऊ र कानपुर गरेर जम्मा पारेका पुस्ततकहरू हुन् यी ।  मेरो सबै सम्पति भन्नु नै यिनै पुस्तक न हुन् । प्रभाकरसित परेको पनि यही किताबकै विषयलाई लिएर न हो । पुस्तककै कारण कोहलपुरमा झन्डै सहिद नभएको ।
 
टिला अनि दहबन हुँदै मुर्कुटीतिर आउने निर्देशन छ । किताबको झोला छोडेर जाने भन्दा शरीरको अङ्ग छोडेर जान लागेको जस्तो भएको छ । हाम्रो युद्धकालको भाषामा यसलाई डम्पिङ गरेर जाने भन्छन् । साँच्चै हो मलाई बलियो बनाएको मेरो अध्ययन–चिन्तन,  पढनलेखन र आत्मविश्वासले हो । अब फेरि लालभन्ज्याङ्मा उभिएर, कथा र लेखादिहरूलाई लिएर बबाल मच्चाउलान् । बबण्डर मच्चिएला । एक त यहाँ असहिँष्णुताको संस्कृति छ, त्यसमा फेरि कृतिको व्याख्या आफ्नै किसिमले गरेपछि टाउको तल र खुट्टा माथि हुनु स्वाभाविक छ । तर म तयार छु, जुनसुकै चुनौती सहन र सामना गर्न तयार छु  । मैले पार्टी र क्रान्तिको हितका लागि नै केही कोट्याएको हुँ, यो मेरो जिम्मेवारीभित्रै पर्दछ भन्ने मलाई लागेको छ । समयले यसलाई साँचेर राख्ला ।

चैत १८, २०६२
म बिहानै इरिवाङबाट हिँडेर टिला आइपुगेँ । साथमा विकल्प छ, मेरो साथी–सहयोगी । आजभोलि टिलामा सबैथरी कमरेडहरू भेटिने गर्दछन्  । सहिदमार्गका कारण पनि सबै शक्ति यतै केन्द्रित छ । सहिदबाटो बनेपछि उता दाङबाट पनि बसहरू निरन्तर आइरहेका छन् । दहवनसम्म आउने गाडीहरू अहिले टिलासम्म आउँछन् । बेलाबेलामा धुलौटे बाटो बिग्रिन्छ र गाडीहरू बाटामै लम्पसार पर्छन् । राती टिलामै बस्यौं । बाटो बिग्रिएकाले बसहरू यता आएनन् । जिल्ला सेक्रेटरी ध्रुब पनि त्यतै रहेछन् । कुमार शाहलाई हटाएर उनलाई जिल्ला सेक्रेटरीमा ल्याइएको  हो । रोल्पा, आधार जिल्लामा मगरको छोरा नभएर ठकुरीको छोरो सेक्रेटरी हुने कुरा भएन । रोल्पाली भए पनि कुमारलाई पनि यहाँ अटाउन गाह्रो परेको छ । ध्रुबले त केही भनेनन्, तर उनीसित बस्नेले भनेको सुनेँ—“आधारइलाकामा बसेर आधारइलाकाकै विरोध गर्ने ?” । मैले फर्कैर हेरेँ । मान्छे ठम्याउन सकिँन ।
 
त्यहाँ अरू पनि मेरा बारेमा कुरा गर्दै थिए । मेरो उपस्थिति थाहा पाएर भन्दै थिए वा के हो भन्न सक्तिन, तर ती ममाथि नै ओइरिएका थिए । त्यहा“ चलेको गफगाफमा मैले फेरि लालभन्ज्याङमा उभिएर रोल्पामा पढ्न प्रतिबन्घ लगाइएको, कतिपय ठाउँमा च्यातिएको र सबै खाल्डो खनेर डम्पिङ गरिएको भन्ने सुनेँ । प्यूठानका इञ्चार्ज अजित सिं (नारायण अधिकारी) ले त यसलाई आफ्नै अगाडि जलाउन लगाए भन्ने पनि सुनेँ । प्यूठानमा पार्टीले होइन, जनसेनाले जलाएको भन्ने कुरा पनि त्यहीँ चलेको कुराकानीमै सुनेँ ।

टिलामा यी सबै कुराहरू मैले बडो गम्भीर भएर सुनेँ । र भित्रभित्रै व्यङ्ग्यको सास फेरें ।

चैत १९, २०६२
गाडी नआएपछि बिहानै हिड्नु ठीक लाग्यो । ठाउँ उता मुर्कुट्टीको छेउछाउ भनिएको थियो, तर खास ठाउँ थाहा थिएन । ध्रुब कमरेडले साथी मिलाइदिए । कमान्ड यच्क्यु र आरयच्क्यु सबै त्यता  भएकाले मान्छेको लर्को रहेछ, त्यता जाने । र पनि एकजना साथी पाएकाले जान सजिलो भयो ।  खाना होलेरीमा  खायौं र अहिले म यहीँ एकछिन बसेको बेला यो लेख्दैछु । दाङबाट आएको गाडी होलेरीमा रोकियो ।  गाडीको छतमा पासाङलाई देखेँ । थुप्रै कमरेडहरू रहेछन् गाडीको छतमा ।  आधारइलाकीय ब्युरोको बैठक सकिएछ । तल छेडा बीचबाटो, जहाँबाट दाङ जाने र मुर्कुटी जाने बाटो छुट्टिन्छ, बाट कमरेडहरू गाडीमा चढेका रहेछन् । त्यहाँ  कुमार शाहजीलाई पनि भेटें । “तपाईँको चर्चा बैठकमा निकै चलेको थियो” भन्नुभयो । ममा कुनै विशेष प्रतिक्रिया थिएन । पासाङले “तल जानु होला” भने मुख बिगारेर ।  आफूसित भएका गोलीगट्ठाले मोर्चामा दरिलो भएर लड्छु भन्ने अठोट ममा थियो । वैचारिक सङ्घर्षमा कसैसित डराइंदैन ।

 चैत १९, २०६२

होलेरीबाट खाना खाएर हिँड्यौँ । टोली ठूलै थियो । अलिकति मोटरबाटो हिँडेपछि देब्रतिर ओरालो लाग्यौँ । पछि थाहा भयो बैठकस्थल मुर्कटीको तल सइगामा राखिएको रहेछ । मेरो मूल उद्देश्य खिमलालाजीलाई भेटेर सँगै उता जाने थियो—पर्वत छेउछाउतिर । मुर्कुटी पुग्नुअघि  वर डाँडोमा धनेश्वरजी र गम्भीरजीहरू थकाइ मार्दै गरेको भेटिनुभयो । बैठक सकिएको र विप्लव र कान्छाबहादुर कमरेडहरू सँगै भएको थाहा पाएँ । अनि म अरूसितै त्यता लागेँ । साथमा अरू कमरेडहरू पनि हुनुहुन्थ्यो थुप्रै । ठाडै ओरालो झर्यौँ र बैठक भए ठाउँमा पुग्यौँ । बाटामा आरबिएम तहका कमरेडहरू आउँदै गरेका भेटिन्थे, तिनको अनुहार र व्यवहारले, ती मसित निकै फायर छन् भन्ने बुझिन्थ्यो ।

 साँझ विप्लब कमरेडहरू आउने भनेपछि त्यहीँ तल बसियो । आरयचक्यु नै त्यता भएपछि जमघट ठूलो हुने कुरा भयो नै । तर खिमलालाजी हिँडेछन्, मलाई नपर्खी । सँगै जाने भनेको, उनी मलाई छोडेर हिँड्छन् । मान्छे अलि स्वार्थी रहेछन् । काठमाडौँमै पनि साथीहरू— “यो खिमलाल मुक्तिले लखेटेर मात्रै हामीसित टाँसिन आएको हो, बाबुरामको मान्छे हो, विश्वास गरिहाल्ने मान्छे चाहिं होइन है” भन्थे । त्यतिबेर निन्याउरो मुख पारेर हामीतिर हेर्थे, सहाराको आशाले । बेलुका विप्लव र प्रताप (जोखबहादुर  महरा) आइपुग्नुभयो । बेलुका अरू नै कुराकानी भए । मैले कान्छाबहादुर कमरेडलाई भेट्नुपर्ने भन्ने निर्देशन आयो । वहाँहरूले खासै केही कुरा गर्नु भएन ।

 चैत २०, २०६२
बिहानै हिँड्यौँ ।  सबै हिँड्यौँ । एक घण्टा उकालो चढेपछि मुर्कुटी आयो  पहिले भिडन्त भएको ठाउँ हो यो पनि । कस्सिएर हिँड्दा एक-डेढ घण्टामा दाङ पुगिन्छ होला । यहाँबाट दक्षिण पूरै देखिने—विशाल फाँट । सहरमा  चर्किरहेको अन्दोलनबारे जान्ने मौका मिल्यो ।  एफएमहरू सबैजसो सुनिने । वास्तवमा यसलाई ‘भ्यू टावर’ भन्न सकिने र पछि  बनाउनुपर्ने ठाउँ रहेछ —रमाइँलो ठाउँ रहेछ, मुर्कुटी । माथि पुगेर एकछिन बस्यौँ, म प्रताप र विप्लवजी । विप्लवजीले निकै कुरा राख्नुभयो ।  मैले सुनेअनुसार बैठकमा सबैभन्दा आक्रामक विप्लव र संतोष थिए रे । रुकुमका अनल, पूर्ण, क्रान्ति (उही क्रान्ति) निकै बम्किएका थिए रे । मगर मुक्तिमोर्चाका बसन्त गालीगलौजमै प्रस्तुत भएका  थिए रे । सो बैठकमा उपस्थित भएको भए कसरी उत्तर दिनुपर्ने थियो, मैले पनि जानेको थिएँ । म आइपुग्दानपुग्दै सकिएछ बैठक । तर त्यहाँ विप्लव मसित त्यति आक्रामक देखिएनन् । उनी कूटनीतिक शैलीमा प्रस्तुत भएका थिए । मलाई कान्छाबहादुरसित भेट्न भने । कान्छाबहादुर बसेको ठाउँमा पुग्न एकजना साथी पाएँ । त्यहाँबाट दक्षिण अलिकति ओरालो झरेर खोँच परेको ठाउँमा पुगेँ र भेटेँ । कान्छाबहादुरको मुड पनि त्यति ठीक थिएन ।  आधारइलाकावालाले निकै डाँटेजस्तो छ, कान्छाबहादुरलाई पनि । कोमल खिमलालसमेतलाई र्याखर्याख  पारे रे सहरिया भनेर—बाटोमै यस्तो कसैले सुनाएको थियो । पुगेर झोला बिसाउन पा’छैन कान्छाबहादुर पनि कड्किए, ममाथि खनिए । राजनीतिक रूपमा इमानदार र क्रान्तिकारी प्रवृत्तिका भए पनि साहित्यिक र सांस्कृतिक
सिर्जनप्रक्रिया बुझेका र उच्च प्रकारको सौन्दर्यबोधात्मक क्षमता भएका  मान्छे होइन रहेछन् यिनी पनि ।   एकोहोरा र यान्त्रिक प्रवृत्तिका कोग्ल्याँटा मान्छे हुन् कान्छाबहादुर भन्ने मेरो बुझाइ र ठम्याइँ रह्यो ।

(सलाम रोल्पा-पृ.२०९-२१३ )
०००
भिडियो फिचरview all