menu

ताजा समाचार

अमेरिकामा अर्को माओवादी समूहको गठन

संयुक्त राज्य अमेरिकामा वामपन्थका नाममा सुधारवाद र विसर्जनवादको अभ्यास गरिरहेका पार्टीहरूबाट विद्रोह गरेर माआवादी समूहहरू तथा रेड गार्डहरू निर्माण गर्ने काम यताका दिनमा तीव्र रूपमा भइरहेको छ । केही समयअघि ‘कम्युनिस्ट पार्टी अफ अमेरिका’ बाट विद्रोह गरेर माओवादी पार्टी सम्पर्क समिति तथा रेड गार्ड टोलीहरू निर्माण भएझैँ अहिले ट्रट्स्कीवादी समूह  'फ्रिडम रोड सोसियलिस्ट अर्गनाइजेसन' (फाइट ब्याक) बाट विद्रोह गरेर फ्लोरिडा राज्यका वामपन्थीहरूले टम्पा माओवादी समूहको गठन गरेका छन् ।

जनवरी २५ तारिखमा गठन भएको सो समूहले स्थापना वक्तव्य जारी गर्दै  मार्क्सवाद–लेनिनवाद–माओवाद नै अहिलेको क्रान्तिको  विज्ञान हो र माओले देखाएको बाटोमा अघि बढेर मात्र क्रान्ति सम्पन्न गर्न सकिन्छ भनेको  छ । उनीहरूले क्रान्तिकारी पार्टी, जन सेनाको निर्माण, संयुक्त मोर्चाको निर्माण र जनदिशाका माध्यमबाट अघि बढेर मात्र लक्षमा पुग्न सकिन्छ भन्ने कुरामा जोड दिएका छन् ।

'मार्क्सवाद-लेनिनवाद-माओवाद : जिन्दावाद' को उद्घोषका साथ गठित सो समूहले माओवादी समूह गठन गर्नुपर्ने  कारण प्रस्ट पार्दै वक्तव्यमा भनेको छ :

''जनवरी २५ जनवरी २०१७ दिन मालेमावादी कार्यकर्ताको सङ्गठन ‘टम्पा माओवादी समूह’  गठन भएको कुरा घोषणा गर्न पाउँदा हामी निकै उत्साहित भएका छौँ । संयुक्त राष्ट्र अमेरिकाका क्रान्तिकारी हुनुको नाताले हामी मालेमाको विज्ञानद्वारा नै पुँजीवाद, साम्राज्यवाद र फासिवादलाई परास्त गर्न सकिन्छ भन्ने कुरालाई आत्मसात गर्छौ । अहिलेको अमेरिकी वामपन्थमा संशोधनवाद र सुधारवाद हाबी छ र पुँजीवादको सार्थक प्रतिरोधका यो लागि सक्षम छैन भन्ने कुरा प्रमाणित भइसकेको छ ।"

त्यसैगरी अमेरिकी संसोधनवादीहरूको चरित्र प्रस्ट पार्दै वक्तव्यमा भनिएको छ :
''हाम्रा थुप्रै सदस्यहरूसित संशोधनवादी अनुभव छ, उदाहरणका रूपमा ‘फ्रिडम रोड सोसियलिस्ट अर्गनाइजेसन (फाइट ब्याक) लाई लिन सकिन्छ । हामीले उनीहरूसित पूर्णरूपमा सम्बन्ध विच्छेद गरेका छौँ र हामीले उनीहरूलाई क्रान्तिको बाधक शक्तिका रूपमा बुझेका छौँ । जनताका लागि राजनीति गरेको भन्ने मुखुन्डो लगाएर तिनीहरूले सुधारवाद र उपयोगितावादको अभ्यास मात्र गरेका छन् l"

माओले देखाएको बाटोमा अघि बढेर मात्र क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्दै सो वक्तव्यमा भनिएको छ :
''संयुक्त राज्य अमेरिकामा कम्युनिस्ट पार्टीको विकास मार्क्सवाद–लेनिनवाद–माओवादको सर्वोपरि भूमिकाका आधारमा मात्र हुन सक्छ । त्यसैले हामी संयुक्त राज्य अमेरिकामा अरू माओवादी समूहसित मिलेर नयाँ पार्टीको निर्माण गर्दछौँ । यसलाई नै हामीले अन्तिम लक्ष बनाएका छौँ र यो अहिलेको समयको सिङ्गो कम्युनिस्ट आन्दोलनको पनि अन्तिम लक्ष हो । जब हामी नयाँ कम्युनिस्ट पार्टीको आधारशीला खडा  गछौँ, हामी स्वाभाविक रूपमा जनसेनाको निर्माणमा लाग्छौँ र  पुँजीवादका विरुद्ध एकताबद्ध हुनेहरूसित संयुक्त मोचाको  गठन गछौँ । हामी क्रान्तिकारी लाइनको वरिपरि गोलबद्ध भएपछि निश्चय पनि यसले दीर्घकालीन सङ्घर्षको स्वरूप ग्रहण गर्नेछ l"

यताका दिनमा अमेरिकामा माओवादप्रति बढ्दो आकर्षण र  माओवादी आन्दोलनबाट मात्रै क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने विश्वास जागेको देखिए पनि राज्यैपिच्छे गठन भएका माओवादी समूहहरू आगामी दिनमा कसरी अगाडि बढछन्, त्यसका लागि चाहिं केही समय पर्खिनुपर्ने हुन्छ l हाललाई, यसले सन् साठीको दसकको फ्रान्सेली माओवादी आन्दोलनको जस्तो नियति नाभोगोस् भनेर कामना मात्र गर्न सकिन्छ l

भिडियो फिचरview all