menu

ताजा समाचार

भारतमा माओवादी विरुद्ध जेलसार अभियान

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का नेताहरूले कमरेड किसनजीको हत्यामा प्रमुख भूमिका खेल्ने पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीसित हत्याको बदला लिएरै छाड्ने, बङ्गालमा अर्को नन्दीग्राम घटना हुनसक्ने भन्ने अभिव्यक्ति दिइरहेको अवस्थामा ममता बनर्जीले पश्चिम बङ्गालमा माओवादी विरुद्ध मात्र नभएर अन्य वामपन्थी समूहका विरुद्ध पनि निगरानी बढाएको कुरा भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् ।

पश्चिम बङ्गालको भङ्गारमा बृहत् विजुली परियोजना स्थापना गर्ने नाममा जनताले भोगचलन गर्दैआएको ४०० बिघाभन्दा बढी जमिनबाट उनीहरूलाई जबर्जस्ती उठाउन खोजेपछि ‘जोमी, जीवीका, पोरिवेश ओ वास्तुतन्त्र रक्षा कमिटी’ बनाएर जनता सङ्घर्षमा होमिएका छन् । यसैक्रममा १६ तारिखका दिन  प्रहरी र कमान्डो फोर्स प्रयोगद्ले  अन्धाधुन्ध गोली चलाएर एक जनाको मृत्यु र सयौँ घाइते बनाएको थियो  ।
 
त्यहाँ ''सिङ्गुर र नन्दीग्रामलाई कहिल्यै  बिर्सन्नौँ", '' हत्याको बदला लिएरै छाड्छौँ", जस्ता नारा लाग्न थालेको र आन्दोलनको प्रभाव सहरी क्षेत्रमा पनि विस्तार हुनथालेपछि ममता बनर्जी सरकारले विरोधीलाई आतङ्कित पार्न  भङ्गारमा भएको प्रतिरोध आन्दोलनलाई ‘नक्सली’ घुसपैठ भनेको छ । प्रतिरोधका लागि बनाइएको कमिटीमा सबै वाम तथा प्रगतिशील समूहहरू समाविष्ट छन् । पश्चिम बङ्गाल सरकारले राज्यका विभिन्न जिल्लाप्रशासनलाई एलर्ट रहन पनि निर्देशित गरेको छ ।

आन्दोलित किसानको हत्या भएपछि गाउँबाट सहरतिर प्रवेश गरेको आन्दोलनको प्रभाव र दबाब रोक्न ममता बनर्जीले जेललाई असुरक्षित महसुस गर्दै जेलमा राखिएका माओवादी नेता तथा कार्यकर्ताहरू विरुद्ध जेलसार अभियान चलाएकी छन् । अहिले पश्चिम बङ्गालमा भाकपा (माओवादी) का १०० जनाभन्दा बढी नेता तथा कायकर्ताहरू जेलमा छन् र यसमा कमरेड दीपकलगायत जन नेता भनेर चिनिने छत्रधर महतो पनि छन् ।
खास गरेर नेताका रूपमा चिनिएका माओवादीहरूलाई अति सुरक्षित भनिएको कलकत्ताको मूल जेलमा सार्न थालिएको कुरा समाचार माध्यामहरूले जनाएका छन् ।

जेल विभागका उच्च अधिकारीको भनाइ भनेर हिन्दुस्तान टाइम्स लेख्छ : “माओवादीहरू निगरानीमा छन् र उनीहरू उच्च सुरक्षाको घेरामा छन् । उनीहरूलाई सेलहरूमा राखिएको छ । उनीहरू २४ सै घण्टा सिसिटिभीको निगरानीमा छन् । साथै हामीले जेलको सुरक्षालाई  पनि  दोब्बर पारेका छौँ । जेलभित्र कुनै पनि किसिमको गतिविधि अमान्य छ ।”

भिडियो फिचरview all