menu

ताजा समाचार

कमरेड गणेशसितको अन्तर्वार्ताको पूर्ण पाठ

(गत अक्टोबर २४ तारिखका दिन भएको भारतको आन्ध्र-उडिसा क्षेत्रको मलकानगिरीमा भएको कथित मुठभेडको घटनामा प्रहरीप्रशासन लगायत सञ्चारमाध्यमहरूले समेत मारिए भनिएका भाकपा (माओवादी) का केन्द्रीय नेता गजराल रवि उर्फ कमरेड 'गणेश'को हालसालै एउटा महत्वपूर्ण अन्तर्वार्ता प्रकाशित भएको छ । भारतको बहुचर्चित अङ्ग्रेजी पत्रिका  'दि विक' ले मलकानगिरी आधारक्षेत्रमा नै गएर त्यहाँ छापामारसितै खाना खाएर राती पनि त्यहीँ बसेर लिएको भनिएको अन्तर्वार्तामा दण्डकारण्य तथा भाकपा (माओवादी) का पुर्वी जोनका इन्चार्ज कमरेड गणेशले थुप्रै महत्वपूर्ण कुरामाथि प्रकाश पारेका छन् । उनले सङ्गठन निर्माण, सैन्य क्षेत्रको परिचालनमा नवीनता तथा तथा जनसम्बन्ध विस्तार, तीनओटा कुरामा जोड दिएका छन् ।)

 प्रस्तुत छ अन्तर्वार्ताको पूर्ण पाठ :

सुरक्षा बलले पहल आफनो हातमा लिएपछि तपाईँहरूले निकै ठूलो धक्का खानुपरेको छ भन्ने सरकारी दाबी छ नि ?
केही हदसम्म यो सही हो । तर, त्यो हामीले जनसरकार चलाइरहेको ठाउँमा होइन । अब हामी छापामार युद्ध चलाउने छैनौँ, उनीहरूले आक्रमण गरेपछि त्यसको प्रत्याक्रमण गर्नेछौँ । सन् २००७ मा हाम्रो पछिल्लो राष्ट्रिय सम्मेलनमा हामीले जनमुक्ति छापामार सेना (PLGA) लाई जनमुक्ति (PLA) मा फेर्ने निणय गरेका थियौँ । हामीहरू हाम्रो पकड भएको ठाउँमा मात्र नभई अन्यत्र पनि पार्टीको विस्तार गर्न जोड दिइरहेका छौँ ।

छापामार युद्ध त्यागेर के तपाईँहरू चिनियाँ मोडलको जनमुक्ति सेनाको मोडेल अँगाल्न  लाग्नुभएको हो ?

हो, चिनियाँ जनमुक्ति सेनाले गरेजस्तै, आवश्यक परेको बेलामा नै हामी कारबाही गर्नेछौँ । यो जनतामा आधारित चलायमान सेना हुनेछ ।

तपाईँले भन्नुभयो, तपाईँहरूको मुक्त क्षेत्रमा स्थिति सुदृढ छ, तर यहाँ मलकानगिरीमा भर्खरै तपाईँहरूले नराम्रो आक्रमण सहनुपर्यो 

तपाईँ अहिले मलकानगिरीमै हुनुहुन्छ । यहाँ हामीबाहेक तपाईँले पुलिस भन्ने चिज देख्नुभएको छ ? आक्रमण त्यतिबेर भयो, जब सरकारले जङ्गलबस्तीमा बसेका जनताको अधिकारमाथि आक्रमण गर्ने क्रूरतम बाटो अँगाल्यो।

बङ्गालमा पनि तपाईँहरू कमजोर हुनुभएको छ र झारखण्डमा पनि त्यति राम्रो गर्न सकिरहनुभएको छैन ।
नीतिनिर्माण र कार्यक्रमको सही तारतम्य मिलाउन नसक्ता हामी बङ्गालमा कमजोर भयौँ । (मुख्यमन्त्री) ममता बनर्जीलाई बुझ्नमा हाम्रो गल्ती भयो । जहाँसम्म बङ्गालका झैँ अन्यत्र पनि ओरालो लागेको भन्ने कुरा छ, हामीले ती ठाउँमा नयाँ किसिमले अगाडि जाने निर्णय गरेका छौँ ।

धेरै माओवादी नेताहरूले लिखितरूपमै ममता बनर्जीसित किसनजीको मृत्युको बदला लिएरै छाड्छौँ भनेर भन्नुभयो ?

हो, अवश्य बदला लिनेछौँ । त्यो पश्चिम बङ्गालका अर्को लालगढ किसिमको आन्दोलन हुनेछ, जसले ममता बनर्जीको सरकारलाई उखेलेर फ्याल्नेछ । हामी भौतिकरूपमा चाहिँ उनको हत्या गर्नेछैनौँ ।

तपाईँहरूजस्तो हार्डलाइनरहरूबाट यस्ता नरम कुरा आउँदा भारतभरिका राजनीतिज्ञहरूले सह्राहना गर्नेछन्

हो, हामी हाम्रो पार्टीलाई नयाँ बनाउन लागेका छौँ । हामीहरूले पढेलेखेका मान्छेहरूलाई पार्टीमा सहभागी हुन प्रोत्साहित गरेर समग्र रूपमै माओवाद र कम्युनिज्मको वैचारिक प्रशिक्षण दिइरहेका छौँ । धेरै प्रतिभाशाली विद्यार्थीहरू विद्यार्थी गतिविधिमा सहभागी भएका छन् र उनीहरूले आश्चर्यजनक किसिमले दोस्रो तहको नेतृत्वको परिपूर्ति गरिरहेका छन्, जसले माथिल्लो तहमा रहेको नेतृत्वको खालिपनलाई पूरा गर्नेछ ।

माथिल्लो तहको नेतृत्वका बारेमा नि ?
हाम्रो पार्टीको माथिल्लो तहका नेताहरूमध्ये धेरजसोको कि त हत्या भएको छ कि त जेलमा छन् । किसुनजी, आजाद, पिवि रावको हत्या र प्रचार विभागका प्रमुख कोबाध गान्धी लगायतका कमरेडहरूको गिरफ्तारीले  माथिल्लो तहमा केही खालिपन छ । अहिलेको सरकार पहिलेको (UPA) सरकारभन्दा धेरै आक्रामक देखिएको छ । उनीहरू माथि आकाशबाट र तल ग्रेहाउन्ड जस्तो क्रूर जत्थामार्फत आक्रमण गरिरहेका छन् । तर उनीहरूले हामीलाई सिध्याउन सक्ने छैनन् । हामीले पनि क्षमतावान धेरै महिला तथा पुरुषहरूलाई पार्टीमा क्याडरका रूपमा निर्माण गरेका छौँ, जसले उच्चस्तरको जिम्मेवारी ग्रहण गर्नसक्छन् ।

छापामार युद्ध त्याग्ने भनेर के तपाईँहरूले सशस्त्र सङ्घर्ष त्याग्न खोज्नुभएको हो ?
होइन, यस्तो कदापि होइन,  हाम्रो पार्टी  क्रान्तिको बाटोमार्फत  यो नक्कली प्रजातन्त्रलाई  फ्याल्ने दिशामा केन्द्रित छ । तर हामीलाई जनता पनि चाहिन्छ, साथै बुद्धिजीवी पनि ।

एक दशक भइसक्ता पनि तपाईँहरूले पार्टीको सम्मेलन किन नगर्नुभएको ? र यो अब कहिले हुँदैछ ?
(हास्तै), हुन्छ । तर यतिबेर हामीले गनुपर्ने अरू थुप्रै कामहरू छन् । चारु मजुमदारले १९६९ मा पहिलो सम्मेलन गर्नुभयो, र हामीले २००७ मा सातौँ । यतिबेर हामी झारखण्ड, पश्चिम बङ्गाल, महाराष्ट्र, उत्तरी क्षेत्र लगायत, देशका अन्य भागमा सङ्गठन सुदृढ गर्न लागिरहेका छौँ । त्यसैले, यसका लागि केही समय लाग्छ ।

मलकानगिरी घटनामा तपाईँ सुरक्षित हुनसके पनि थुप्रै नेताहरू गुमाउनुभयो ?
महान् उद्देश्य प्राप्तिका लागि कमरेडहरूको सहादत हुन्छ नै । विगतमा हामीबाट केही कमजोरी भए । पछिका दिनका लागि हामी सचेत छौँ । दण्डकारण्य मुक्त क्षेत्र एकदमै सुदृढ छ र भविष्यमा पनि रहिरहनेछ ।

(रबि बेनर्जीले दि विक का लागि लिएको अन्तर्वार्ता)
फोटो : न्युज.अ
अनु : डा. ऋषिराज बराल
०००




भिडियो फिचरview all