menu

ताजा समाचार

चर्पी त बने तर प्रयोगमै अाएनन्

गाईघाट, कार्तिक ७ ।  उदयपुर जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेको दुई वर्षसम्म पनि जनचेतनाको अभावमा जिल्लाका ग्रामीण भेगका झन्डै ४० प्रतिशत चर्पी अझैसम्म पनि प्रयोगविहीन अवस्थामा छन् ।

तराईको ग्रामीण क्षेत्र र पहाडी क्षेत्रका अधिकांश चर्पी अझैसम्म पनि प्रयोग हुन नसकेको कुरा जिल्ला सरसफाइ तथा खानेपानी डिभिजन कार्यालय र यसका अनुगमनकर्ता र समन्वय समितिका अध्ययनले देखाएको राससमा हरिकुमार राईले समाचार लेखेका छन् ।

पत्रकार तथा खानेपानी सरसफाइ समन्वय समिति जेवास–सिसीका संयोजक कौशल चेमजोङका अनुसार जिल्लाका धेरै ग्रामीण भेगमा जनचेतनाको अभावमा चर्पी प्रयोग हुन नसकेको अध्ययन  प्रतिवेदनले देखाएको बताउनुभयो ।

पहाडी क्षेत्रको झन्डै १५ गाविसमा अहिले पनि प्रत्येक घर र विद्यालयमा चर्पी निर्माण गरेको भएपनि ४० प्रतिशत पनि चर्पी प्रयोगमा नआएको अनुगमनकर्ता तथा पत्रकार महासङ्घ उदयपुरका सचिव भोटराज राईले बताउनुभयो ।

धेरै विद्यालयमा चर्पी निर्माण भएपनि पानीको अभावमा चर्पी निर्माण हुन सकेका छैनन् भने अन्य गाउँघरमा चर्पी अझैसम्म पनि प्रयोग गर्ने चेतनाको अभावले चर्पीमा बाख्रा खसी तथा कुखुरा राख्ने गरेको यसका अनुगमनकर्ताहरुको भनाइ छ ।

यता जिल्लाकै तराई क्षेत्रका गाविसहरु हँडिया, जोगिदह, सुन्दपुर, तपेस्वरी क्षेत्रका गाविसमा पानीको सुविधा भएपनि ५० प्रतिशत स्थानीयवासीले अहिले पनि चर्पी प्रयोग नगर्ने गरेको पाइएको छ ।

यस क्षेत्रमा बसोबास गर्ने मानिस तथा समुदायमा अझैसम्म पनि चर्पी प्रयोग नगर्ने संस्कार र नजिकैको खोला वा नदी किनार र पानीमा दिसापिसाब गर्ने आदतका कारण अहिले पनि चर्पी प्रयोगविहीन अवस्थामा रहेको सुन्दरपुरका प्रदीपनारायण चौधरीले बताउनुभयो ।

जिल्ला खानेपानी डिभिजन तथा सरसफाइ कार्यालय उदयपुरका प्रमुख रामकुमार श्रेष्ठका अनुसार अझै पनि जिल्लामा जनचेतानको अभाव रहेका कारण चर्पी प्रयोगमा नमाएको उल्लेख गर्नुहुन्छ ।

खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्नका लागि जिल्लाका तीन वटा नगरपालिका र ४० गाविसका ६४ हजार ५०० घरधुरी परिवारको लागि दुई वर्षअघि नै करिब ६५ हजार चर्पी निर्माण गरिएको जिल्ला विकास समितिले जनाएको छ ।

भिडियो फिचरview all