menu

ताजा समाचार

निबन्ध : मेरो सपनाको बस्ती

अजय खड्का
(
अजय खड्का भारतीय नेपाली साहित्यका प्रतिभाशाली स्रष्टा हुन् । खासगरेर निबन्ध लेखनमा उनी बेजोड प्रतिभाका रूपमा भारतीय नेपाली साहित्यमा स्थापित छन् l उनीसित माझिएको भाषा छ र खारिएको शैली छ । साथै उनीसित क्रान्तिकारी विचार छ र भविष्यबोध पनि छ l क्रान्तिकारी आशावादको सारतत्त्व बोकेके प्रस्तुत निबन्धले यसै कुराको द्ध्योतन गर्दछ )

सपना के हो ?
सपना दुई थरीका हुन्छन्—निद्रामा देख्ने र जाग्राममा देख्ने ।

अचेतन मनले निद्रामा र सचेतन मनले विपनामा सपना देख्दछ । जाग्राम सपनालाई हार्दिक आकाङ्क्षा पनि भन्न सकिन्छ  अनि प्यारो कल्पना पनि । अतिव अभीष्ट भनौँ वा अटल अठोट, जे भनौँ यो मान्छेको सर्वाधिक प्रिय र प्रेरक तत्त्व हो ;  बचाइको मूल ऊर्जा हो । सपनाले आजीवन प्रयासको यात्रामा पत्थर, विघ्न–बाधासित जुझ्दै नदीसरी गन्तव्यतर्फ बढिरहन प्रेरित गर्दछ । सपना अमूर्त हुन्छ, रहस्यमय हुन्छ, अवास्तविक पनि हुन्छ । सपनाले मूर्तता रहस्योद्घाटन र विपनाको भुइँ टेक्नु व्यक्ति वा समष्टिको इच्छाशक्ति र कार्यकारणमाथि भर पर्दछ । यसर्थ विपना सपनाको गन्तव्य हो । कुनै बेला सपनामा लेउ लागेर छेउ भेट्तै नभेट्ने स्थितिमा पनि पुग्छ, जब सपना असत्य, अयथार्थ, अवास्तविकताको धुरी चढ्छ; ज्ञानानुशासनको बाटो छोड्छ । सपना भनेको मानिसको बचाइलाई  सार्थक तुल्याउन सहयोग गर्ने आकाङ्क्षा हो ।

हरेक मान्छेले सपना देख्छ । मगज र सामथ्र्यअनुसार सपनाको पनि कद हुन्छ ।

सपना र विपनाबीच द्वन्द्वात्मक  सम्बन्ध छ । सपना विपनामा फेर्ने चाहनामै मुख्यतः मान्छेले सपना सँगाल्छ । जत्रै स्वर्णिम र रङ्गिन सपना सजाए पनि त्यसलाई विपनामा फेर्न कडा परिश्रम गरिएन भने सपना हावादार सपना बन्छ; आकासकुसुम साबित हुन्छ । सपना पूरा हुनु दोस्रो चरण हो  भने स्वप्नाकाङ्क्षी  हुनु त्यसको पहिलो चरण ।

अरूअरू स्वप्नदर्शीझैँ म पनि सक्रिय स्वप्नदर्शी हुँ । मेरा पनि थरीथरीका  र केही निश्चित सपना छन् । यही सपनाले घरीघरी  हुटहुट्याउँछ, चिमोट्छ, र ‘विपनासित भेट गर्’ भनेर दबाब दिन्छ । मन पनि कस्तो तह नमिलेको  वर्तमानजस्तो बराल्सिङ्गे भइबस्छ । सपनासँग विपनाको दूरत्व बढेको बोध गराइबस्छ ।

मेरो सपनाको बस्ती स्वर्णिम  स्वर्णभूमिजस्तो । मानव मानवै भएर बस्ने मानवभूमिजस्तो ।

सपनाको बस्ती यस्तो होस्, जहाँ समस्त गुणहरूको समावेश होस्; स्वप्निल बस्तीको गरिमालाई चहकिलो सफेदीले भन्दा बढी चहकाओस् हिमालीपटमा । अमनचैन लहलाएको होस्, जसरी लहलाउँछन् फसल उर्वर खेतमा ।  मानवता हाँसेको होस्, जसरी हाँस्दछन् सयपत्री र मखमलीहरू शरद् ऋतुमा । खुशहालले गाएको होस् सुरमय गीत, जसरी गाउँदछ कोकिलकण्ठमा ।
भौतिक साधनहरूको भारीभरकम संरचनाले मात्र ‘स्वर्णिम बस्ती’ बन्नेछ भनी सोच्ने यान्त्रिक स्वप्नदर्शीहरूसित म बिल्कुल सहमत छैन । भौतिक साधनहरूको भरमार भए पनि त्यसलाई चिन्नेजान्ने, सञ्चालन र संरक्षण गर्ने मानव संसाधन नै छैन भने त्यो ‘बाँदरको हातमा नरिवल’ हुन्छ । यद्यपि भौतिक विकास अनावश्यक  र कम  महत्त्वको हो भन्ने मेरो आसय पटक्कै होइन । एउटा सुखी, सुसंस्कारित र समृद्ध मानव बस्तीको निर्माण मेरो सपनाको सार हो ।

मेरो सपनाको बस्ती स्विट्जरल्यान्डजस्तो, क्यानडाजस्तो किन ? आफ्नै मोलिकताले टम्म  सजिएको होस् न । जहाँको माटोले हामीलाई आफ्नोपनको अनि पाहुनालाई नेपालीपनको बासना देओस् । यहाँका हरथोकले हाम्रो पौरख र मौलिकताको महक फैलाओस् । अन्धानुकरणले युक्त बस्ती  हामीलाई जति नै सुन्दर लागे पनि अन्ततः त्यो बनावटी र भद्दा हुनेछ, अर्काले दानमा दिएर लगाएको टालोजस्तो । यहाँ दिग्गज कहलाइएकाहरूले बारम्बार स्विट्जरल्यान्ड र निदरल्यान्ड बनाउने सपना बाँड्छन्, मानौँ उनीहरू सपनाका सौदागर हुन् ! हामीसित आफ्नै मौलिकताले  भरिएको सपनाको  खडेरी भएर होला, सपना पनि यहाँ आयातित छ । सपनामा समेत हाम्रो अधिकार र आफ्नोपन नहुनु कति निम्छरो कुरा ! यस्तो लाग्छ, अर्काकै सपनामा बाँच्नु हाम्रो नियति बन्दो छ । यसका दुईवटा कारण देख्छु— कि त हाम्रो मगजको भूगोलमा मौलिक सपनाको अभाव छ कि चाहिँ सपनाले माग गर्ने इच्छाशक्ति र साहसको अनिकाल ।
हाम्रो सोच र सपनामै खोट देखिन्छ । दूरगामी सपनाले मात्र दूरदर्शी भविष्य निर्माण गर्न सक्दछ । फगत उडन्ते  र हावादारी सपनाहरू पानीका फोका सरह हुन्छन् । यसैले सपनाको आँत पनि सखुवाको चुरजस्तो बलियो हुनुपर्दछ न कि भक्यौँलोको काठजस्तो । सपनालाई विपनामा फेर्न सार्थक पहल भएन भने त्यो सपना गर्भमै तुहिन्छ वा शैशवकालमै  मर्दछ ।

सपना यहाँ धुमिल छ, अप्रस्ट छ, अन्योलग्रस्त छ । यसकै प्रतिफल वर्तमान अकर्मण्यताको चिसो बर्को ओढेर टिठलाग्दो विपना बाँचिरहेछ । हामी आँगन पुर्नलाई  भँडार खनिरहेछौँ; थोरै मूल्य प्राप्तिका लागि बहुमूल्य चीज गुमाइरहेछौँ । वर्तमान बाँच्नलाई  भविष्य मारिरहेछौँ । अजम्बरी सपनादेखि हामी कोशौँ टाढा गइरहेछौँ । यसैले स्वप्निल यात्राका बाधक तत्त्वहरूको रौँचिरा नगरी अघि बढ्नु  हाम्रो लागि आत्मघाती बन्नेछ । एउटा स्पष्ट पथ, विचार र दीर्घम्यादी परिकल्पना आवश्यक हुन्छ सपनालाई मूर्त रूप दिन । यसै र कुनै विद्वानले भनेका छन्—विचार सही भए कुनै पनि चीज हासिल गर्न सकिन्छ, तर विचार नै गलत भए हासिल भएका चीजहरू पनि गुमाउनु पर्छ ।

मेरो ‘बस्ती’ को दायराभित्र ती तमाम मानवीय खोपीहरू अटेका छन्, जहाँ मान्छेलाई अभागी हुनुको विवशतामा टेक्नलाई एक चोक्टा भुइँ पनि जुर्दैन; जहाँ मान्छेलाई अविरल पसिनाको  खोलो बगाएर पनि सुखदानुभूति गर्न हम्मे छ अनि जहाँ हार्नलाई केही नभएका तर जित्नलाई संसार भएका सर्वशक्तिमान  समूह छ । मेरो सपनाको बस्तीमा समग्र भूगोल अटाएको छ । यसका आकारप्रकार बेग्लाबेग्लै भए पनि यसलाई जोड्ने कडी लछेप्रै छ । यही कडीहरूको धागो टिपी माला गाँस्ने अविचल प्रयास मेरो सपनाको अभीष्ट हो । यतिबेला म डुवर्सका कवि वेगवसन्त थापाको एउटा गीत सम्झिरहेछु :
जुट्ने बेला साथी हो
छुट्ने कुरा गर्नु भएन
तयारीमा लागौ“ अब
अझ अबेर गर्नु भएन ।


मेरो  सपनाको बस्तीले मूर्तता पाउन एक होइन, समस्त स्वप्नदर्शीहरूको सक्रिय लगनशीलताको माग गर्दछ । जुन लगनशीलतामा दूरदर्शीता होस्, पारदर्शिता होस् अनि होस् इमानदारी । अर्को खाँचो हो अनुशासनको । यसकै अभावमा मानिसले पाएका बहुमूल्य थोक पनि गुमाएका छन् मानव इतिहासमा । जसरी दिमाग बिग्रिए शरीरका अन्य अङ्ग स्वतः  दिशाहीन बन्दछन्, त्यसरी नै स्वप्नहीन कर्मले पनि मानव समाज दिशाहीन बन्दछ । ‘ताक्ने चाहिँ मूढो हान्ने चाहिँ घुँडो’ प्रवृत्तिले सपना कुइरोको काग बनी आकासमा कावा खान पुग्दछ ।
सपना मर्नु कतिको खतरनाक हुन्छ भन्ने कुरा अवतार सिंह पाशको कविताले बडो सुन्दर ढङ्गमा चित्रण गरेको छ

सत्य हुँदाहुँदै पनि दबेर बस्नु—नराम्रो त हो
जुनकिरीको उज्यालोमा पढ्नु— नराम्रो त हो
मुट्ठी कसेर समय गुजार्नु—नराम्रो त हो
तर सबैभन्दा खतरनाक होइन ।
मूर्दा शान्तिले भरिनु
कुनै छट्पटीबिनै चुपचाप सहनु
घरबाट काममा निस्किनु
र कामबाट घर फर्कनु
सबैभन्दा खतरनाक हुन्छ
हाम्रा सपनाहरूको मृत्यु हुनु ।

सपना मर्नु नै आफू मर्नु हो; जिउँदो मूर्दाको निशानी हो । हाम्रो अलमल र अन्योलताको कारण अजम्बरी सपना फुल्न नपाई बतासको तीव्र झोक्काले कतै बिरानीमा उडाएर लाने त होइन ! यसो भइदियो भने ‘सबैभन्दा खतरनाक’ क्षणको साक्षी म मात्र नभई समस्त मानव समाज हुनेछ ।

(पखेटा चलुन्जेल-२०१५ बाट)

भिडियो फिचरview all