menu

ताजा समाचार

कमरेडहरूले खुलस्त पार्नुपर्छ

 डा. ऋषिराज बराल
सङ्घीयता, जातीय पहिचान तथा आत्मनिर्णयको अधिकारका लागि लड्नेहरू अग्रगामी हुन् र यो  मुलुकको भू-राजनीति, आर्थिक तथा सामाजिक सम्बन्ध, प्राकृतिक स्रोतसाधन आदिको अवस्थाका कारण नेपालका लागि सङ्घीयता अभिशाप सिद्ध हुन्छ भनेर नेपालको राष्ट्रिय हितप्रति दीर्घकालीन सोचाइ र बुझाइ राख्नेहरू ‘राजावादी’ हुन् भनेर विशिष्ट मार्काका मान्छेहरूले होहल्ला गरिरहेको अवस्थामा राष्ट्रिय स्वाधीनताको पक्षमा कार्यगत एकता गरेर जाने भनेर निर्णय गरेका पार्टीहरू, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) भित्र यो मुद्दा प्रवेश गरेर निकै खैलाबैला मच्चाएको छ । खास गरेर माओ दिवसका सन्दर्भ र पछि पनि पार्टी एकतासम्बन्धी एउटा कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्यले नेत्रविक्रम चन्द 'विप्लव’ को पार्टीलाई राजावादीको आरोप लगाएपछि यो मुद्धा आरोपप्रत्यारोपको विषय बनेको छ । यसले राजावादी हुनुको सैद्धान्तिक तथा वैचारिक अर्थ र औचित्यको मात्रै माग नगरी कार्यगत एकताको आयुका बारेमा पनि आशङ्का उत्पन्न गरेको छ । यसले जनयुद्धकालमा प्रचण्डले बाबुरामलाई भारतपरस्त र बाबुरामले प्रचण्डलाई दरवारपरस्त भनेको घटनाको सम्झना दिलाएको छ ।

क्रान्तिमा प्रधान र गौण सत्रुहरू हुन्छन् र देशकाल र परिस्थिति अनुसार प्रधान सत्रुलाई एक्ल्याउन गौण सत्रुसित पनि मिल्नुपर्ने हुन्छ । यो काम पार्टीको नीति, योजना र कार्यक्रमभित्र रहेर गरिन्छ । अझ राष्ट्रिय स्वाधीनताका प्रश्नमा त व्यापक मोर्चा बन्ने संभावना हुन्छ । संयुक्त मोर्चा भनेको पार्टीभित्रका कार्यकर्ताहरू तथा जबसहरू सम्मिलित मोर्चा मात्र होइन, कार्यनीतिगत र रणनीतिक दुवै खालका संयुक्त मोर्चा बनाउन सकिन्छ । यो लेनिनले देखाएको र माओले सिकाएको बाटो हो । 

एउटा पार्टी फुट्छ र केही समयसम्म त्यो पार्टीसित दुस्मनका झैं व्यवहार हुन्छ ।  अनि पछि विस्तारै चोचोमोचो मिल्छ, दारुपानी चल्छ । यो कुरा प्रचण्डसित एकता गर्ने सन्दर्भमा भएका घटनाहरूले प्रस्ट पारेका छन् । सबै माओवादीलाई एकतामा ल्याएर आफू ठूलो नेता बन्ने र त्यसैका आधारमा भारतसित ‘बार्गेनिङ’ गर्ने प्रचण्डको मनसुवा पूर्णरूपमा पूरा हुन नसके पनि ज-जसलाई भित्र्याउन सकिन्छ भित्र्याएर उनले पार्टीको नामसित ‘केन्द्र’ जोडेका छन् । उनले मैँ हुँ केन्द्र, र नेता पनि मै हुँ को सन्देश देशभित्र मात्र नभएर बाहिरका लाई पनि  दिने प्रयास गरेका छन् ।  यसमा उनको विशेष स्वार्थ थियो/छ  । क्रान्तिकारी माओवादीहरूको केन्द्र नभए पनि भारतीय विस्तारवादपरस्त ‘माओवादीहरू’ को केन्द्र बनाउन चाहिँ प्रचण्ड सफल भएका छन् ।

विप्लव समूहले आफूले जनयुद्धकालीन माओवादीको विरासतलाई निरन्तरता दिएको, त्यसको विरासतको हकदार आफू भएको भनेर जबस मोर्चाहरूको नाम र पार्टीको नाम पनि जनयुद्धकालीन नामसित मिलाएको छ । विप्लव समूहले एकताको सन्दर्भमा पनि ‘एकता’ पदावली प्रयोग नगरेर “क्रान्तिकारीहरूबीच केन्द्रीकरण” भन्दै आफूलाई विचार र सङ्गठनको केन्द्रका रूपमा प्रस्तुत गरेको छ ।  केन्द्रीकरण भन्दा एकतालाई जोड दिएको बैद्य समूहले पनि “प्रचण्डसित एकताको पहल गर्नु नै गलत थियो” भनेर दस्ताबेजीकरण गरेपछि भने विप्लव होइन, हामी नै केन्द्र हौँ र माओवादी विरासतको हामीले मात्र प्रतिनिधित्व गर्छौँ’ भनेर केन्द्रीकरणमा जोड दिएको छ ।

यसरी हेर्दा  माओवादी आन्दोलनको केन्द्र को बन्ने भन्ने मनोविज्ञान र होडबाजी दुई समूहबीच चलेको देखिन्छ र एकले अर्कालाई होच्याउने, आरोप लगाउने पदावलीको खोज र प्रयोग पनि यसैसित गाँसिएको छ भनेर भन्न सकिन्छ । अरूभन्दा आफू क्रान्तिकारी भएको र अमुक पार्टी यस्तोउस्तो भन्नुको पछाडि कार्यकर्ताहरूलाई आकर्षित गर्ने मानसिकताले काम गरेको हुनसक्छ तापनि प्रश्न कुन समूहमा बुढा-पुराना नेताकार्यकर्ताहरू छन्, कुन समूह ठूलो छ भन्ने होइन, केन्द्रको दाबी मूलतः विचारका आधारमा हुन्छ र गरिनुपर्छ । पात्रहरूको महत्त्व  भए पनि केन्द्र हुनुको आधार विचार र कार्यदिशा हो । तुलनात्मक रूपमा त्यो यो भन्दा यो ठीक भन्न सकिए पनि वैचारिक-साङगठनिक पक्ष, नेतृत्व र कार्यदिशाले नै केन्द्र हुनु र बन्नुको आधार प्रदान गर्छ ।

किरणले विप्लव समूहलाई राजावादीको आरोप लगाएझैँ विप्लव समूहका कार्यकर्ताले किरणलाई प्रचण्डपरस्त र डलरवादीहरूको प्रभावमा परेको आरोप लगाएका छन् । गजबको फेसबुक युद्ध चलेको देखिन्छ । आफूआफूमा 'जनयुद्ध' चलेको छ र दुस्मन रमाइलो मानेर हेरिरहेको छ l 

अवश्य पनि यताका दिनमा पूर्व राजा ज्ञानेन्द्र सक्रिय बन्दै छिनमा भारत, छिनमा ब्याङ्कक, छिनमा सिङ्गापुर र छिनमा चीन धाइरहेका छन् । दिल्लीमा मोदीका दूतहरूलाई भेटिरहेका छन् र  वक्तव्यबाजी पनि गरिरहेका  छन् । परन्तु यतिकै भरमा त्यतिसारो आत्तिनु पर्ने स्थिति छैन ।  आत्तिनु भनेको कमजोर धरातलमा अहिलेको संसदीय राज्यव्यवस्था अडिएको छ भन्नु हो, कमजोर मानसिकताको प्रदर्शन हो  । वास्तवमा यो अहिलेका सत्ताधारीहरूमा निहित नैतिक बलको अभावको परिणाम हो ।

नेपाली जनताको  ठूलो हिस्सा देशभक्त छ,  तर ज्ञानेन्द्रभक्त छैन  । राष्ट्रिय स्वाधीनताप्रति गम्भीर हुनु भनेको राजावादी हुनु होइन  । यो मुलुकलाई माया गर्नु भनेको राजावादी हुनु होइन । विडम्बनाको विषय के छ भने आजभोलि जातीय पहिचान, सङ्घीयता र आत्मनिर्णयजस्ता कुराहरू आत्मघाती छन्,  यी नेपालको भू-राजनीति, स्रोतसाधन, आर्थिक पक्ष र सामाजिक बनौट अनुकूल छैनन्, यसले मुलुकलाई झन् परजीवी बनाउँछ भनेर प्रश्न उठाउनेहरू राजावादी भनिने गर्छन् । यस किसिमको बुझाइ वैचारिक कूपमण्डूकता सिबाय केही होइन ।
 
सङ्घीयता, पहिचानवाद र आत्मनिर्णयको अधिकारको सन्दर्भ भूगोलमा मात्र सीमित छैन,  यो वैचारिक पक्ष पनि हो । नेपालको सन्दर्भमा यो राष्ट्रिय स्वाधीनतासित गाँसिएको प्रश्न हो ।  भारतको निर्देशनमा चुरेदक्षिण “एक प्रदेश” को बहस चल्छ, “मधेस एक प्रदेश” को नारा उठ्छ, हाम्रा क्रान्तिकारी कमरेडहरू “जायज मागप्रति हाम्रो समर्थन छ” भन्न हतारिन्छन् । अनि यसमा सीधै भारतीय स्वार्थ गाँसिएको छ भनेर तर्क गर्दा ‘राजावादी’ को आरोप लगाउँछन् । राष्ट्रिय स्वाधीनताप्रति गम्भीर हुनेहरूप्रति ‘राजावादी’ को आरोप लगाउनेहरूलाई साम्राज्यवाद-विस्तारवादका तावेदार भन्न मिल्ने कि नमिल्ने ? ज्ञानेन्द्रको हौवा देखाएर ‘मधेस एक प्रदेश’ भनेर ताली पिट्न सकिँदैन, भारतमै बहुसङ्ख्यकको मातृ भाषा नभएको  हिन्दी भाषालाई राष्ट्रभाषा मान्न सकिँदैन  र नागरिकताका नाममा भारतीयलाई यो मुलुक लालमोहर लगाएर दिन सकिँदैन । यसो भन्दा कसैले ‘राजावादी’ भन्छ भने यस किसिमको वैचारिक दरिद्रताप्रति व्यङ्ग्यले मुस्कुराउन मात्र सकिन्छ ।

विप्लवलाई  ‘राजावादी’ भन्दा कमरेड किरणसित पक्कै पनि केही आधार हुनुपर्छ । त्यत्रो अनुभवी नेताले त्यसै भन्नु भएन होला । सङ्घीयता नमानेकै  आधारमा कसैलाई राजावादी भनिएको हो भने यो देशको बहुसङ्ख्यक जनता नेपालको भू-राजनीतिक विशिष्टताका कारण सङ्घीयता चाहिँदैन भन्नेमा छन् । यसलाई जनमत सङ्ग्रहबाट पनि प्रमाणित गर्न सकिन्छ । होइन, कमरेड मोहन बैद्यसित अरू आधार छन्, ज्ञानेन्द्र शाह र विप्लव मिलेर राजतन्त्र फर्काउने षड्यन्त्र गर्दैछन् भने उहाँले यसलाई खुलस्त पार्नुपर्छ र विप्लवजीले पनि यसबारे मुख खोल्नुपर्छ । प्रश्नहरू विप्लवजीतिरपनि तेर्सिएका छन् ।  साँच्चिकै साँठगाँठ हो भने यस किसिमको षड्यन्त्रको सबैले डटेर मुकाबिला गर्नुपर्छ । मुलुक अब पछाडि फर्किँदैन । ढिलोचाँडो, यो अब जनगणतन्त्रको दिशामा अघि बढ्छ । सङ्घीयता, त्यो पनि जातीय पहिचानसहितको सङ्घीयता र आत्मनिर्णएको अधिकार नमानेकै भरमा कसैलाई राजावादी भनिएको हो भने यो टिप्पणीकार पनि ‘राजावादी’ हो । र अब कमरेड किरणलाई बुढ्योली लागेछ, उहाँको स्मरणशक्ति कमजोर हुँदैगएछ, उहाँले मार्क्सवाद पनि बिर्सनुभएछ भन्नुपर्ने हुन्छ ।

वर्षौँदेखि मार्क्सवादमा काम गरेको मान्छेलाई थाहा हुनुपर्ने हो ‘राजावादी’ हुन भनेको एउटा सन्दर्भमा सीमित हुनु होइन । योसित सामन्तवादी विरासत, सिद्धान्त, विचार राजनीति, राज्यव्यवस्था सबै कुरा गाँसिएका हुन्छन् । राजतन्त्रको पुर्नस्थापनाका कुरा गर्नेहरूले समेत यो प्रश्न छोडिसकेको अवस्थामा जनगणतन्त्रको पक्षमा लडिरहेकाहरूलाई कसैले राजावादी भनेर उसको वैचारिक निष्ठाप्रति प्रश्न उठाउँछ भने उसलाई साम्राज्याद र विस्तारवादको दलाल भन्नुको विकल्प छैन । सत्य के हो भने राष्ट्रिय स्वाधीनतालाई खास पात्र अथवा संस्थामा केन्द्रित गर्न सकिँदैन र हुँदैन, यो त सिङ्गो नेपाल र नेपालीको अस्मितासित गाँसिएको प्रश्न हो । “राज्यको पुनर्संरचना” सङ्घीयता र अग्रगामिताका नाममा  बाह्य शक्तिको स्वार्थ पूरा गर्न सकिँदैन भन्नेहरूलाई ‘राजावादी’ भनिन्छ भने ती “राजावादीहरू” लाई यस टिप्पणीकारको तर्फबाट लालसलाम । 

कमरेड किरणको अभिव्यक्ति कुनै उरन्ठेउलो कायकर्ताले फेसबुकमा रमाइलो गरेजस्तो हुनु हुँदैन । नेपालको कम्युनिस्ट आन्दोलनमा लामो अनुभव बटुलेको र सबैले आदर-श्रद्धा गर्ने नेताबाट, त्यो पनि क्रान्तिकारीहरू एक जुट हुनुपर्छ भन्ने भाव चौतर्फी रूपमा उठिरहेको अवस्थामा मार्क्सवाद विरोधी यस्तो अभिव्यक्ति व्यक्त हुन्छ भने गम्भीर हुनुपर्ने स्थिति हुन्छ । विप्लवप्रति कार्यकर्ताको मोहभङ्ग गराउन राजावादी भनिएको हो भने पनि योभन्दा टीठ लाग्दो स्थिति अरू केही हुन सक्तैन । अब उहाँलाई आरामको जरुरत छ भन्नुपर्ने हुन्छ ।

प्रश्न विप्लव समूहसित मात्र सम्बद्ध छैन, यस टिप्पणीकारको  विप्लव समूहसित थुप्रै कुरामा विमति छन् । यो राष्ट्रिय स्वाधीनतासित सम्बद्ध सार्वभौम प्रश्न हो । कमरेड किरणले सङ्घीयताको विरोध गर्नेहरू राजावादी हुन भनेर जसरी भन्नुभयो, यसले कमरेड किरण विप्लवभन्दा फेरि प्रचण्डसित नजिकिन खोज्नुभएको त होइन ? कतै कमरेड किरण विप्लवसितको कार्यगत एकताबाट विमुख हुने बहाना  त खोजिरहनु भएको त छैन भनेर आशङ्का पैदा हुनु स्वाभाविक छ । सबैको अभिभावक-नेता भएर मित्रता र हार्दिकताका साथ सबैलाई समेटेर अघि बढ्न अगुवाको भूमिका खेल्नुपर्ने मान्छे यसरी प्रस्तुत हुनु भनेको साँच्चिकै दुखद पक्ष हो ।

भिडियो फिचरview all