menu

ताजा समाचार

मोहन बैद्य : कमरेड माओले देखाएको निरन्तर क्रान्तिको बाटोमा दृढतापूर्वक अघि बढौं !

मोहन बैद्य 'किरण'
विश्व सर्वहारा वर्गका माहान् नेता माओत्सेतुंगको स्मृति दिवस अर्थात् माओदिवसका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष कमरेड मोहन  बैद्य 'किरण' ले आज पुस १० गते एक वक्तव्य जारी गर्दै माओले देखाएको निरन्तर क्रान्तिको बाटोमा दृढतापूर्वक अघि बढ्न आव्हान गर्नुभएको छ ।

कमरेड माओले देखाएको निरन्तर क्रान्तिको बाटोमा दृढतापूर्वक अघि बढौं शीर्षक दिइएको सो वक्तव्यमा भनिएको छ :
''पहिलेझैं यस वर्ष पनि विश्वसर्वहारा वर्गका महान् नेता, क्रान्तिका शिक्षक तथा रणनीति विशारद कमरेड माओको संस्मरण र सम्मानमा विश्वभर १२४औं माओदिवस मनाइँदैछ । माओ दिवसको यस महान् ऐतिहासिक अवसरमा क. माओको विशेष सम्मान तथा संस्मरण गर्दै  विश्वसर्वहारा वर्ग, नेपाली जनसमुदाय, सम्पूर्ण पार्टी कमरेड तथा शुभचिन्तकहरुप्रति केन्द्रीय समितीको तर्फबाट केन्द्रीय कार्यालय रातो लाल सलाम अर्पण गर्दछ ।"

माओको योगदानको महत्त्वबोध गर्दै वक्तव्यमा अगाडि भनिएको छ :
''माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा रहेको चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी मुक्त तुल्याउनुभयो र समाजवादी क्रान्तिको प्रक्रियामा सर्वहारा अधिनायकत्वअन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्त प्रतिपादन गरी महान् सर्वहारा सांस्कृतिक क्रान्ति अगाडि बढाउनुभयो । माओले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विकासमा जुन थप योगदान गर्नुभयो, ती सार्वभौम महत्त्वका रहेका छन् । यसै क्रममा मार्क्सवाद–लेनिनवाद–माओवाद विकसित भएको छ ।"

आजको समय र सन्दर्भमा माओलाई सम्झनुको अर्थ र सान्दर्भिकताका साथै क्रान्तिकारी पार्टी निर्माणको आवश्यकताको चर्चा गर्दै वक्तव्यमा भनिएको छ :
''आज विश्व र नेपालमा पनि एकातिर साम्राज्यवाद र अर्कोतिर दक्षिणपन्थी संशोधनवादको हैकम प्रबल रूपमा बढ्दैगएको छ । विश्व र नेपालमा पनि क्रान्तिले गम्भीर धक्का खाएको छ । यस स्थितिमा नेपालमा क्रान्तिलाई अगाडि बढाउनेबारे गम्भीर प्रकृतिका चुनौतीहरु पैदा भएका छन् । आजको आवश्यकता क्रान्तिकारी पार्टी निर्माण तथा ध्रुवीकरणको प्रक्रिया अगाडि बढाउनु र क्रान्तिकारी कार्यदिशालाई समृद्ध तुल्याउदै नयाँ जनवादी क्रान्तिको तयारी गर्नु हो । यस प्रकारका चुनौतीहरूको सामना गर्दै क्रान्तिको तयारीको दिशामा दृढतापूर्वक अगाडि बढ्नका लागि माओदिवसले हामीलाई धारिलो वैचारिक हतियार र नयाँ ऊर्जा प्रदान गर्दछ । तसर्थ, कमरेडहरू , माओको १२४औं दिवस विशेष सम्मानका साथ मनाऔं र माओले देखाएको निरन्तर क्रान्तिको बाटोमा दृढतापूवर्क अगाडि बढौं ।"
-
भिडियो फिचरview all