menu

ताजा समाचार

तीन पार्टीद्वारा सङ्घर्षका विविध कार्यक्रम घोषणा

काठमाडौं, पुष ४,  भारतीय विस्तारवादी अतिक्रमण र हस्तक्षेपका विरुद्ध संयुक्त सङ्घर्षका  लागि कार्यगत एकता गरेका तीन पार्टीहरू नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी-माओवादी), नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को आज बसेको बैठकले संयुक्त सङ्घर्षको कार्यक्रमको घोषणा गरेको छ  ।

नेपाल कम्युनिस्ट पार्टी (मसाल) को कार्यालयमा बसेको तीन पार्टीको बैठकले माथिल्लो कर्णाली, अरुण तेस्रो, विराटनगर स्थित भारतीय दूताबासको कन्सुलेट कार्यालयलाई लक्षित गरी सङ्घर्षका कार्यक्रमहरू तय गरेको छ  । बैठकले पुस १६ गते काठमाडौंमा अन्तर्क्रिया कार्यक्रम गर्ने, पुस २२ गते सुर्खेतमा विरोध सभा गर्ने, पुस २५ गते संखुवासभाको खाँदबारीमा विरोध सभा गर्ने र पुस २९ गते विराटनगरमा विरोध सभाको आयोजना गर्ने निर्णय गरेको कुरा पनि जानकारीमा आएको छ ।

सङ्घर्षका कार्यक्रमलाई प्रभावकारी बनाउन संयुक्त कार्यदलले प्रचारप्रसार, पर्चा पम्प्लेटिङ, नाराहरू  तय गर्ने र तीनवटै ठाउँको विरोधसभामा वक्ताहरू तोक्ने समाचार स्रोतले जनाएको छ । सङ्घर्षलाई माथिल्लो कर्णाली, अरुण तेस्रोलगायतका सम्पूर्ण राष्ट्रघाती जलविद्युत सम्झौता, पिडिए, पिटिए र नेपालको जलविद्ध्युतमाथि भारतीय एकाधिकार स्थापित हुने गरी भारतले प्रस्तावित गरेको विद्ध्युत -व्यापार निर्देशिकालगायतका विरुद्धका मुद्धाका विरुद्धमा  केन्द्रित गर्ने कुरा पनि बैठकमा उपस्थित सदस्यहरूले जानकारी गराएका छन्

राष्ट्रियताको प्रश्नलगायत जनजीविकाका मुद्दाहरुमा पनि संयुक्त संघर्षका कार्यक्रम बनाएर जाने सहमति बनाउने कुराका साथै राष्ट्रियता र जनजीविकाका मुद्दाहरुमा एजेण्डा मिल्ने अन्य पार्टीहरुसँग पनि कार्यगत एकताको लागि पहल गर्ने सहमति तीनदलबीच बनेको कुरा पनि जानकारीमा आएको छ ।
भिडियो फिचरview all