menu

ताजा समाचार

तीन पार्टीको कार्यगत एकता : थप टिप्पणी

यही पुस १ गते मोहनविक्रम सिंह, मोहन बैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ को हस्ताक्षरसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को संयुक्त वक्तव्य प्रकाशमा आएपछि कतिपयहरू आश्चर्यचकित भएको पाइयो भने अधिकांशमा खुसीको भावना सञ्चार भएको देखियो । “भारतीय विस्तारवाद विरुद्ध” भन्ने कथनले सबैलाई आकर्षित गरेको देखियो । खास गरेर सम्बन्धित पार्टी कार्यकर्ताहरूमा त्यसमा पनि बैद्य र विप्लवका कार्यकर्ताहरूमा नयाँ उत्साह पैदा भएको कुरा सामाजिक सञ्जालमा तिनका अभिव्यक्तिबाट बोध गर्न सकिन्छ ।

अहिलेको संविधानलगायत थुप्रै कुराहरूमा मोहन विक्रम सिंहको पार्टी र एमालेबीच त्यति ठूलो विवाद देखिँदैन । चित्रबहादुर केसीलागायतका मसालका सभासदहरूले सङ्घीयताबाहेक यो संविधानका अधिकांश कुरालाई स्वीकार गरेर संविधान निर्माणमा सही छाप ठोकेका छन् । यो संविधानका सन्दर्भमा मसालको स्थिति भनेको २०४६ सालको संविधानलाई आलोचनात्मक समर्थन गर्ने एमालेको स्थितिजस्तै हो । मोर्चाको नाममा भए पनि मसाल यही संबिधानअन्तर्गत ओली  सरकारमा सहभागी पार्टी हो र अहिले संविधान संशोधनसित गाँसिएका विविध प्रकरणमा पनि यो एमालेको साथमा छ । अर्थात् यसका थुप्रै कुराहरू बैद्य-विप्लवसित भन्दा एमालेसित मेल खाने खालका छन् ।

यता बैद्य र विप्लवको पार्टी भनेको संविधानसभा बहिष्कार गरेको पार्टी हो र  उनीहरूले यो संविधान जनताको संविधान होइन र यसबाट देशको वर्गीय अन्तर्विरोध हल नहुने हुनाले यसलाई खारेज गरेर जनसंविधान बनाउनुपर्छ भनेका छन् । त्यसमा पनि बैद्यले सङ्घीयता, समावेशी, धर्मनिरपेक्षताजस्ता कुराहरूलाई प्राप्तिका रूपमा ठानेर यसप्रति  आलोचनात्मक समर्थनको भाव देखाएका छन् । तुलनामा विप्लव समूह वर्तमान संविधानप्रति बढी आक्रमक देखिन्छ । दुवै पार्टीले आ-आफना संविधान जारी गरेर यससम्बन्धी धारणलाई सार्वजनिक गरिसकेका छन् ।  बैद्य समूहले संघीयतालाई प्राप्ति ठान्दै जातीय पहिचान र आत्मनिर्णयको कुरामा जोड दिएको छ ।  १४ ओटा सङ्घीय प्रदेश घोषणा गरेर बैद्य समूहले ‘कतै नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखानको चरितार्थ गरेको छ ।  विप्लव समूह भने सङ्घीयतालाई राष्ट्रियताको बाधक ठान्दछ । वास्तवमा विप्लव समूह सङ्घीयता र जातीय पहिचानप्रति प्रस्ट छ र  उसले ‘जनसरकार’ पनि घोषण गरेको छ । 

मसाल माओवाद र जनयुद्धको राजनीतिप्रति एकदमै आक्रमक र एमालेसित सहकार्य गर्न बढी रुचि राख्ने समूहका रूपमा बढी परिचित छ ।  यो कार्यगत कति परसम्म जाला, कति दिगो होला भन्ने प्रश्न रहे पनि खासखास बुँदमा यो जसरी कार्यगत एकतामा आयो, राम्रो कुरा हो । यसमा चाहिँ मोहन बैद्यको पहल सराहनीय मान्न सकिन्छ । बैद्य समूहका आफ्नै समस्याका कारणले पनि होला, कार्यगत एकता तथा साझा मञ्चका सम्बन्धमा बैद्य समूह बढी लचिलो देखिन्छ र यसले गर्दा यो समूह  समयसमयमा टिप्पणीको विषय पनि बन्ने गरेको छ । खासगरेर अहिलेको संविधानको विरोधमा उपेन्द्र यादवहरूसित गरेको कार्यगत एकता आम जनमानबीच मात्र नभई बैद्यकै कायकर्ताबीच पनि आलोचनाको विषय बनेको थियो ।

विप्लव समूहले चाहिँ आफ्नो पार्टी मात्रै सही, आफू मात्रै जनताका बीचमा छ भनेर देखाउन भनौँ ‘चिनाउन’ र ‘स्थापित गर्न’ भरिसक्के कार्यगत एकता तथा साझा मोर्चा बनाउन चाहेको देखाउँदैन । आफूलाई क्रान्तिकारीहरूको केन्द्र देखाउन अलि बढी होहल्ला गर्नमा उसको रुचि रहेको पाइन्छ ।   मोहन विक्रमले माओ विचार त्यागेको कुरा नगरे पनि मोर्चामार्फत उनी संसदीय राजनीतिको अभ्यास गरिरहेका छन् । उनीपछिका नेता संसद्वादी राजनीतिमा उपप्रधानमन्त्री भइसकेका छन् ।  अरूसित नअटाउने मोहन विक्रमको व्यक्तिवादी प्रवृत्ति र विप्लवको एक्लेबीर हुने प्रवृत्तिले अहिलेको कार्यगत एकता लामो समयसम्म नजाने पो हो कि भन्ने आशङ्का रहे पनि यो लामो समयसम्म जानुपर्छ भन्ने धारणा उनका कार्यकर्ताका साथै राष्ट्रिय स्वाधीनताप्रति चिन्तित सबैको छ ।   साथै मार्क्सवाद–लेनिनवाद–माओवादका पक्षधरहरूबीच बहसछलफल चलाउँदै कार्यगत एकतालाई पार्टीएकताको आधारसम्म  लैजानुपर्छ  भन्ने धारणा कार्यकार्तामा  विकसित भएको देखिन्छ । यस अर्थमा पनि अहिलेको कार्यगत एकताको निरन्तरताको माग गर्नु स्वाभाविक छ ।

अहिले कार्यगत एकताको आधार “नेपालमा भारतीय विस्तारवादका तर्फबाट भएका राष्ट्रियता (प्राकृतिक साधनस्रोतमाथि) गरिएको अतिक्रमण” का साथै “महान् अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम पार्टीस्थापना दिवस सन्दर्भमा आगामी २२ अप्रिल (बैशाख ९ गते ) संयुक्त रूपमा मनाउने”, लाई बनाइएको छ । कार्यगत एकताको मिलनबिन्दु राष्ट्रियतालाई बनाउन खोजिएको छ र यही नै बढीभन्दा बढीलाई समेट्न सकिने विषय पनि हो । यहाँ अहिलेको संविधानका प्रावधानहरू तथा यसमा संशोधनका नाममा उठेको सिमाङ्कन, नागरिकताको प्रावधान र हिन्दी भाषाको प्रश्नलाई छोइएको छैन । वास्तवमा यो अहिले संविधानसित जोडिएर आएका विषय हुन् भनेर यीप्रति उदासीन हुने तथा बेवास्ता गर्ने स्थिति चाहिं होइन ।  यी सोझै नेपालको राष्ट्रिय स्वाधीनता र अखण्डतासित जोडिएका प्रश्नहरू हुन् र दीर्घकालीन दृष्टिले निकै ठूलो असर पार्ने र पर्ने कुरा हुन् ।

समस्या यहीँनेर छ । बैद्य समूहले अघि सारेको संविधानले ‘सङ्घीय जनगणतान्त्रिक संविधान’ जोड दिएको छ । । सङ्घीयता मानेपछि सीमाङ्कनको कुरामा बेवास्ता गर्ने कुरा हुँदैन  । विप्लव समूले भने सङ्घीयता र यो संविधान दुवैको काम छैन भनेको छ । मसाल समूहले सङ्घीयताप्रति विमति जनाए पनि आलोचनातमक समर्थन गर्दै यसका हरेक गतिविधिमा सहभागी भएको छ ।  यस्तैयस्तै जटिलताले गर्दा संविधान संशोधनका नाममा प्रचण्ड सरकारले अघि सारेका बुँदा राष्ट्रघाती भए पनि तीन समूह यसतर्फ प्रवेश नगरेर कार्यगत एकताको घेरा सीमित पारेको हुनसक्छ । यस्ता कारणले पनि कार्यगत एकताका आयु छोटो हुने हो कि भन्ने आशङ्का उत्पन्न हुनु स्वाभाविक  छ र यस्तो नहोस् भन्ने प्रयास सबैबाट हुनु आवश्यक छ ।

पहिले बुँदाको मात्रै कुरा नभएर दोस्रो बुँदाले पनि प्रश्न उठाको छ । २०७४ साल बैशाख नौ गतेको लेनिन दिवस तथा पार्टी स्थापना दिवस मनाउने निर्णय गर्ने नेताहरूले एक हप्ता मात्र बाँकी रहेको माओदिवस मनाउने निर्णय किन गरेनन्,  अथवा किन हुन सकेन भनेर कार्यकर्ताबीच प्रश्न उठेको  छ र यो स्वाभाविक पनि छ ।  बैद्य-विप्लव माओवाद मान्दछन्, मोहनविक्रम माओवाद मान्दैनन्, उनी जनयुद्धका पनि विरोधी हुन्  । माओ दिवसमा माओको सान्दर्भिकता, माओवादको औचित्य,  दसबर्से जनयुद्ध र अब हुने सशस्त्र सङ्घर्षका कुरा उठ्नेछन् नै । यो सबै कुरा मोहनविक्रम सिंह र मसालको रुचि र सान्दर्भिकताभन्दा परको विषय हो । यस्तो बेला माओदिवस मनाउने कुरा बैद्य समूह र विप्लवसमूहबीच नै  सम्भव हुने देखिन्छ ।

विप्लव समूहलाई अध्ययन- चिन्तन र अनुभव कम भएका कमजोर नेता र जुझारु र खटारु कार्यकर्ता भएको समूह भन्ने गरिन्छ ।  सम्बन्ध विच्छेदको  तात्तातो अवस्थामा विप्लव समूहले माओ दिवस निकै भव्यताका साथ मनाएको थियो । विभिन्न कारणवस विप्लव समूहको अहिलेको स्थिति दुई वर्षअघि नयाँ पार्टी बनाउँदाको जस्तो छैन । नेता धेरै, त्यो पनि थाकेका नेता र अल्छे र जागिरे टाइपका कार्यकर्ता बढी भएको समूह भनेर बैद्य समूहका बारेमा टिप्पणी गर्ने गरिन्छ । दुवै समूहले अलगअलग किसिमले प्रभावकारी रूपमा माओदिवस मनाउन सक्ने स्थिति नरहेको अवस्थामा संयुक्त मनाउँदा कार्यक्रमलाई प्रभावकारी पनि बनाउन सकिने र बाहिर पनि राम्रो सन्देश जाने भए पनि संयुक्त रूपमा माओदिवस मनाउनुको आवश्यकता र औचित्यप्रति दुवै पार्टी त्यति गम्भीर भएको बोध हुँदैन । 

मालेमा, नयाँ जनवादी क्रान्ति र सशस्त्र सङ्घर्षका माध्यमबाट सत्ता कब्जा गर्ने कुरामा दुई पार्टीबीच नजिकको सम्बन्ध भएकाले विचार र राजनीति दुवै दृष्टिले बैद्य र विप्लव समूहबीच नै लामो सहकार्यका आधारहरू विद्यमान देखिन्छन् । मूल समस्या कार्यदिशाकै हो । दुवै समूहका कार्यकर्ताहरूको मनोभाव पनि नमिलेका कुरा मिलाउँदै सँगै जानुपर्छ र कार्यगत एकतालाई पार्टी एकताको तहसम्म लानुपर्छ भन्ने देखिन्छ । अहिले माओदिवस संयुक्त रूपमा मनाउने कुरा वैचारिक सामीप्यको आधार त हो नै, साथै भावनात्मक दृष्टिले पनि एकअर्कालाई नजिक ल्याउने आधार हो ।  यसले कार्यकर्ताबीच मात्र नभई आम जनमानसमा पनि सकारात्मक सन्देश जाने देखिन्छ ।
विविध जटिलताहरू भए पनि भारतीय विस्तारवाद विरुद्धको कार्यगत एकतालाई थप सुदृढ र फराकिलो बनाउनु आवश्यक छ । यसको आधार भनेको विस्तारवाद विरोधी अभियानलाई व्यवहारमा अघि बढाउनु हो । माओदिवस  यसको महत्त्वपूर्ण प्रस्थानबिन्दु हुनसक्छ ।

भिडियो फिचरview all