menu

ताजा समाचार

भूकम्प पीडितहरू अझै शरणार्थी अवस्थामा


सिन्धुपाल्चोक (तौथली) । गत वर्ष वैशाख १२ गते गएको भूकम्पले घर ध्वस्त भयो । भूकम्प पीडितका दुई वटा वर्षा टिनका टहरामा विते, एउटा जाडो याम पनि यही टहरामा कठ्याङ्ग्रिएर वित्यो । अर्को जाडो याम आउन थालिसक्यो । तर कतिपय भूकम्प पीडितहरु अनुदान वापतको राहत अनुदान रकम पाउनेको लिस्टमा अटाउन सकेनन् । यही अवस्थामा बस्न योग्य घर भएका केही राजनीतिक दलका कार्यकर्ता, केही कर्मचारीहरुका नाममा भने अनुदान रकम सिफारिस भएर आएको छ ।

सिन्धुपाल्चोक जिल्लाको तौथली गाविस वाड नं. ८ गैरीगाँउका टपेन्द्र श्रेष्ठको घर वैशाख १२ गते गएको भूकम्पले ध्वस्त भयो । श्रीमतीको दुबै मृगौला खराब भए पछि उनी राजधानीमा डेरा गरेर श्रीमतीको उपचार गराईरहेका छन् । सरकारले दिने भनेको अनुदान सम्झौता गर्न गाविसमा टोली पुगेको छ भन्ने सुनेर काठमाडौँबाट तौथलीको बाघ भैरव निमावी उनी पुगे । त्यहाँ पुग्दा उनलाई उक्त लिष्टमा नाम नभएको बताएर फर्काइयो ।

 ‘भूकम्पले घर ढल्यो, श्रीमती विरामी छन्, उनको उपचारका लागि काठमाडौँमा बस्दै आएको छु’, उनले भने, ‘अनुदान सम्झौता गर्न टोली गाँउ पुगेको छ भनेर यहाँ आएको हुँ, नाम नै रहेनछ ।’ उनको घर छेउका ओल्लो र पल्लो घर अनुदान पाउनेको लिष्टमा छ । तर उनको नाम लिष्टमा अटाउन सकेन् । उनीमात्र होइनन्, यस गाविसका ३९४ घर धुरी यो लिष्टमा पर्न नसकेको गाविसको तथ्यांक छ ।
तौथली ४ गणेशचा बजारमा एउटा ६ तले आरसीसी विल्डिङ छ । त्यो विल्डिङमा तल्लो तलामा पसलहरु छन् । माथिल्लो तलामा केही सहकारी तथा अन्यअपिसहरु छन् । सग्लो ठडिएको छ । केही पलास्टर भने चर्किएको छ । यो घरका घरधनी स्थानीय एमाले कार्यकर्ता कृष्णबहादुर श्रेष्ठ हुन् ।

भूकम्प पछिको क्षतीको अध्ययन गर्न गएको इञ्जिनियर सहितको टोली यीनै कृष्णको घरमा बस्यो । उनले टोलीलाई दैनिक कुखुराको मासु र भात खुवाए । उनको नाम राहत अनुदान पाउनेको लिष्टमा निस्कयो । खुवाउन नसक्नेको नाम निस्किएन् । यस्तै भन्छन् यहाँका स्थानीय । हामीले कृष्णबहादुरसँग पनि यही प्रश्न गर्यौँ । उनी यसलाई स्वीकार्दैनन् । तर कुराकानीकै क्रममा छानविन भएर आफ्नो नाम हटे पनि कुनै गुनासो नहुने सम्म भने भन्न भ्याए । यस क्षेत्रमा घर सर्वे गर्न इञ्जिनियर योगेश अानन्द खटिएका थिए ।

स्थानीय वृद्ध गोरी माया श्रेष्ठ, ७९ ले यही कुरामा इंगित गरिन् । ‘उ हेर्नुस, त्यो अग्लो घर, सिंगै ठडिएको छ, हाम्रोघर यहाँ हेर्नुस कहाँ छ’, त्यही अग्लोघरको पछाडि आफ्ना दुई भत्किएका घर देखाउँदै उनले भनिन्, ‘हाम्रा यहाँ दुईवटा घर थिए । एउटामा हामी बस्थ्यौँ अर्कोमा तीनवटा छोराहरुको परिवार, बूढाको नाम त (अनुदान पाउनेको सूचीमा) पर्यो, छोराको छैन्, हामीले कसैलाई केही खुवाउन सकेननौँ नी त ?’
अर्का मकरध्वज श्रेष्ठको गुनासो पनि उस्तै छ । सुरुमा सरकारले तत्कालको राहत दिनका लागि बनाएको परिचयपत्र उनले पाए १५ हजार रुपैयाँ पनि बुझे । ‘दुईवटा घर हुन, एउटामा छोराहरु बस्छन्, मेरो नाममा एउटा हो, हामी बाबुछोराको नाममा नै परिचयपत्र बन्यो, मेरो परिचयपत्र नं. ११७४१७५ हो, छोराको ७६ छ, ७४ को नाम छ,  ७५ र ७६ छुट्यो, फेरी ७७ को छ’, उनले प्रश्न गरे, ‘किन छुट्यो त ? दुईवटाको नाम नआए पनि एउटाको त आउनुपर्छ नी ?’ उनले थपे, ‘हो हामीले कसैलाई कुखुराको मासु खुवाउन सकेनौँ ।’

हामीलाई गोरीमायाले एउटा नाम लिएकी थिइन् । ‘इञ्जिनियरले त राम्रै गरेको थियो नी, सबैको नापेकोका थियो, यो त सब त्यही कोपिलाले गर्दा भएको हो ।’ उनले लिएको कोपिला नामलाई पच्छाउँदै जाँदा पत्ता लाग्यो उनी  माओवादी युद्धकी शहीद परिवार हुन् । उनी भूकम्पको क्षती संकलन गर्दा स्थानीय सहयोगीको रुपमा खटिएकी थिइन् । राहत सम्झौता कार्यक्रममा पनि उनी खटिएको पायौँ ।
अध्ययन गर्दै जाँदा उनको पनि घर भत्किएको पायौँ तर एउटा घरधुरी भत्किए पनि उनको परिवारका दुई जनाको नाम राहत अनुदान सम्झौता गर्न पाउनेको सूचीमा उल्लेख रहेको छ ।

भूकम्प प्रभावित अन्य जिल्लामा घर निमार्णका लागि सरकारले दिने अनुदानका लागि सम्झौता भइसक्दा पनि सिन्धुपाल्चोकको तौथलीमा भने सम्झौता हुन सकेन् । स्थानीयको विरोधका कारण अनुदान हुन सकेन् । यसरी विरोध गर्नेमा थिए स्थानीय भूकम्प पीडित तथा त्रिपुरा सुन्दरी उच्चमाविका भूपू प्राचार्य विष्णुभक्त श्रेष्ठ । उनको तौथलीमा भएको घर भूकम्पले पुरै भत्कियो । उनको नाम अनुदान पाउनेको लिष्टमा परेन् ।

उनी स्थानीय काँग्रेस कार्यकर्ता हुन् । बास्तविक भूकम्प पीडितले अनुदान नपाउने अवस्था आउँदा विरोध गर्नुपरेको उनको भनाइ छ । सरकारले प्रारम्भिक रुपमा १२८८ जनालाई परिचयपत्र वितरण गरेको थियो । तर सरकारले घर बनाउन दिने भनेको अनुदान पाउनेको नामावलीमा ८९४ जनाको मात्र नाम अट्यो । यसरी ३९४ जनाको नाम छुटेपछि विवाद बल्झियो ।

‘अहिले ३९४ जनाको नाम छुट्यो, त्यसमा म सबैले पाउनुपर्छ भन्दिन्, तर पनि त्यसमध्ये २०० भन्दा बढीले पाउनुपर्छ, उनीहरुको घरबास छैन्’, उनले भने, ‘र अर्को कुरा जुन ८९४ जनाको नाम आएको छ, त्यसमा पनि धाँधली भएको छ, घर जस्ताको तस्तै हुनेको पनि नाम छ, भूकम्प अघि भत्किएका हरुको पनि नाम छ ।’ यसरी नाम छनोट गर्दा राजनीतिक प्रतिशोध साँधिएको बताउँछन् उनी । उनका अनुसार महाजन टोलमा ८ घर छुटेका छन् । त्यस्तै मेसपुखुर टोलका ६ घर, नक्ष टोलका ६ घर छुटेका छन् । यसरी टोल नै छुट्नु राजनीतिक तथा व्यक्तिगत प्रतिशोध भएको उनको भनाइ छ ।

राहत वितरण तथा अनुदान पाउनेको नाममा त्रुटी भएको स्वंम गाविस सचिवसमेत स्वीकार गर्छन् । प्रारम्भिक रुपमा राहत वितरण गर्दा परिवार संख्या हेरेर रकम वितरण गरे पनि पछिल्लो समय घर सर्वेक्षण गर्दा सरकारले खटाएको टोलीले स्थानीय रुपमा समन्वय नगर्दा समस्या भएको गाविस सचिव पशुपती गैँडाले बताए । उनले सर्वेक्षण गर्दा खटिएको टोलीले समन्वय गरेको भए त्रुटी हुने अवस्था नहुने भन्दै पञ्छिन् खोजे ।

स्थानीय माओवादी केन्द्रका प्रतिनिधि तथा दलित मुक्ति मोर्चाका नेता मोहनबहादुर विक धाँधली भएको स्वीकार्दैनन् । उनले केहीको नाम छुटे पनि त्यसमा धाँधली नभएको उनी बताउँछन् । उनले यस्तो भनिरहँदा हामीले प्रश्न गर्यौँ, ‘तपाईँका अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ, तपाईँका कार्यकर्ताको नाम पनि मुछिएको छ, उनीहरुको बचाउमा त बोल्नु भएन् ?’, उनले भने, ‘त्यस्तो होइन्, धाँधली भएको मान्दिन, त्रुटीहरु भएका होलान्, धेरैको नाम गडबढ भएको होला त्यसलाई छानविन गर्नुपर्छ ।’

यसरी विवादका बीच अनुदान सम्झौता भयो कतिले राहत पनि बुझे । यसरी भूकम्प पीडितका नाममा निकासा भएको राज्यको ढुकुटी केही टाँठाबाठाले आफ्नो खल्तीमा पार्दै गर्दा सरकार भने त्यसको छानविनका लागि कुनै ठोस कदम चाल्न सकेको छैन् ।
पछिल्लो समय सरकारले गुनासो संकलन गर्न थालेको छ । तर गुनासो संकलन कार्य पनि झञ्झटिलो छ । गुनासो दर्ता गराउन गाँउबाट जिल्ला सदरमुकाममा पुग्नुपने वाध्यता रहेको छ । तर गुनासो सुनुवाइ हुनेमा भने स्थानीय पीडित निश्चिन्त छैनन् ।  

अनुदानको रकम दाजुभाई बीच झगडा
सरकारले दिने भनेको अनुदानले सगोल घर भएका दाजुभाईहरुबीच झगडाको विउको रुपमा देखिएको छ । भूकम्प पीडितको अनुदान रकम वितरण गर्दा लाभदायी व्यक्तिको एक जनाको नामा आएको र त्यसमा सगोल वा एकल भन्ने उल्लेख नहुँदा अनुदानको रकम एक्लैले हडप्दा दाजुभाइहरुबीच झगडाको विउ उत्पन्न हुने देखिएको छ ।

भिडियो फिचरview all