menu

ताजा समाचार

माओवादी नेता कोबाद घान्दी अझै जेलमा

भारतीय माओवादी नेता कोबाद घान्दीलाई अदालतले अभियोगबाट निर्दोष प्रमाणित गरे पनि अझै पनि उनलाई अनेक बहाना बनाएर जेलमै राखिएको छ ।  उनलाई पंजाब विश्वविद्यालयमा राष्ट्रविरोधी भाषाण गरेको अभियोग लगाइएको थियो ।

अक्टोबर २० तारिखका दिन भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का वरिष्ठ नेता कोबाद घान्दीलाई पटियाला कोर्टमा उपस्थित गराइएको थियो । उनलाई सन् २००९ मा पंजाब विश्वविद्यालयमा ‘राष्ट्र विरोधी’ भाषाण गर्नुका साथै गोप्य बैठकहरू गरेको भन्दै पटियाला पुलिसले गैर कानुनी  काम गरेको भनेर विशेष अभियोग लगाएको थियो । र बीचमा दिल्लीको अदालतले अन्य मुद्दामा निर्दोष भनेर रिहाइ गरे पनि फेरि अर्को पुरानो अभियोग लगाएर घान्दीलाई चेरापल्ली केन्द्रीय जेल,  तेलङ्गनाबाट यसै वर्ष पंजाब ल्याइएको थियो ।

६५ वर्षीय कोवाद घान्दी मुम्बईको प्रख्यात पारसी परिवारमा जन्मेका थिए । उनले देहरादुनको दून स्कुल र सेन्ट जेबियर्स कलेज मुम्बईमा अध्ययन गरेका थिए, त्यतिबेर उनी काङ्ग्रेसी नेता सञ्जय गान्धीका सहपाठी थिए । पछि उनी उच्च शिक्षाका लागि लन्डन गए पनि वामपन्थी आन्दोलनबाट  प्रभावित भएर उनले बीचमै पढाइ छोडे । १९७० को दशकमा उनी जनवादी अधिकारका लागि भइरहेका  आन्दोलनमा सहभागी बने र  यसै क्रममा उनी  सन् १९८० को आरम्भमा भारतीय कम्युनिस्ट पार्टी (माले) पिपुल्स वारको सम्पर्कमा पुगे । पछि  सन् २००४ मा कम्युनिस्ट पार्टी (माले) पिपुल्स वार र माओवादी केन्द्रबीच एकता भएर भाकपा (माओवादी) बनेको थियो । उनले वामपन्थी तथा मूलधारका पत्रपत्रिकाहरूमा आर्थिक तथा राजनीतिक विषयमा थुपै लेखरचनाहरू लेखेका छन् ।

घान्दीलाई सन् २००९ मा दिल्ली पुलिसले पक्राउ गरेको थियो ।  विभिन्न ठाउँमा राष्ट्र विरोधी भाषण गरेको भनेर उनका विरुद्ध दिल्ली, हरियाणा र पंजाबमा मुद्दा दायर गरिएको थियो । त्यतिबेला भारतीय कम्युनिस्ट पार्टी (माओवादी) माथि प्रतिबन्ध लगाइएको थिएन । उनलाई विभिन्न जेल सारे पनि यसै वर्षको जुनमा दिल्ली अदालतले अभियोगबाट मुक्त गरेको थियो । तर लगत्तै अन्य मुद्दाका नाममा उनलाई प्रिभेन्सन एक्टअन्तर्गत पक्राउ गरिएको थियो ।

कोबाद घान्दी भाकपा (माओवादी) का वरिष्ठ नेतामध्येका एक नेता हुन् । बौद्धिक नेताका रूपमा उनको राजनीतिक परिचय बनेको छ । जेलबाट पनि उनले थुप्रै दार्शनिक तथा वैचारिक प्रकृतिका  रचना लेखेका छन् । पार्टीमा लामो समयसम्म प्रचारप्रसार तथा स्कुलिङको जिम्मेवारी समालेका घान्दीको बहुचर्चित महिला नेतृ अनुराधा गान्धीसित कामरेडली विवाह भएको थियो । मलेरियाको कारण पार्टीकी केन्द्रीय सदस्य अनुराधा गान्धीको मृत्यु भूमिगत अवस्थामै भएको थियो ।

आठ वर्षभन्दा बढी जेल बसेका कोबाद लागायत पोलिट ब्युरो सदस्य कमरेड अजितसहित अन्य केन्द्रीय र  राज्य  र जिल्ला तहका थुप्रै नेताहरू जेलमा छन् ।

भिडियो फिचरview all