menu

ताजा समाचार

नेपाली केटीहरूको तस्करीको जालो

सुशिल मानव

सरकार, प्रशासन र तमाम गैरसरकारी सङ्गठनहरू महिलाको सन्दर्भमा  अनेक किसिमका दावा किन नगरून्, परन्तु, सत्य के हो भने सरकारी नाककै तल राजधानी दिल्लीसित जोडिएको गाजियावादको ट्रान्सहिडेन क्षेत्र अहिले मानव तस्करीको गढ बनेको छ ।
 
सोमवार २३ अक्टोबरको साँझ इन्दिरापुर थानाको पुलिस र दिल्ली पुलिसको संयुक्त छापामारीबाट इन्दिरापुरमको न्याय खण्ड २ को सृजन बिहार सोसाइटीको दुइटा फ्ल्याटबाट २८ जना केटीहरूलाई मुक्त गरियो । खस कुरा के हि भने खाडीदेश पठाउन भनेर ३ महिना पहिले नेपालबाट ३० जना केटीहरूलाई ल्याएर सृजन बिहार इन्दिरापुरमका यिनै फ्ल्याटमा राखिएको थियो ।

यसै क्रममा मौका छोपेर दुई जना केटी त्यहाँबाट भागेर आफ्नो एक जना नातेदारकहाँ पुगे, ती नातेदार त्यहाँ घरेलु नोकरका रूपमा काम गर्थिन् । उनीहरूले गीता कोलोनीका एक जना दम्पतिलाई केटीहरूलाई बन्धक बनाएर राखेको जानकारी दिए । अनि सबै जना मिलेर दिल्ली पुलिसकोमा गए । त्यहाँबाट  दिल्ली पुलिसका केही अधिकारीहरू खबर दिने दुइटी केटीलाई लिएर इन्दिरापुरम थाना पुगे ।

ठीक पाँच बजे इन्दिरापुरम पुलिसले आफ्नो दलबलका साथ इन्दिरापुरम न्यायखण्ड २ को सृजन बिहार सोसाइटीको फ्ल्याट नम्बर सी–५, डी. २४ र आई ७ मा छापा मारेर त्यहाँ बन्धक बनाएर राखिएका २८ जना नेपाली केटीहरूलाई मुक्त गरे । त्यति नै बेला नेपाली मूलका पाँच एजेन्ट रोमियो जोसी, ध्रुब पाण्डेय, केदारनाथ, विकासबहादुर घिमिले  र रामेन्द्र गिरीलाई पनि पक्राउ गरियो । एजेन्टहरूलाई मानव तस्करी तथा देह व्यापारको धाराअन्तर्गत  हिरासतमा लिइएको  छ ।

दिल्ली एनसिआरमा चल्ने गरेका तमाम होटल, टुर एन्ड ट्राभल्स एजेन्सीहरू, पब, बार, क्यासिनो, डिस्कोथेक, प्लेसमेन्ट एजेन्सीहरूदेह व्यापार र मानव तस्करी जस्ता गैर कानुनी काममा सक्रिय छन् । दिल्ली एनसिआरमा ब्युटी पार्लर र मसाज सेन्टर चलाउने नेपालीहरू पनि सबैजसो यस किसिमको धन्धामा लागेका छन् । ब्युटी पार्लर र मसाज सेन्टरको आडमा यस किसिमको धन्धा बिनाअवरोध चल्ने  गर्छ  । समग्र रूपमका यिनीहरूबीच मिलोमतो र सञ्जाल छ, जसमा खादी, खाकी र सफेदपोसी सबै नै मिलेका छन्
तस्करीसम्बद्ध बाटाहरूमा रेल्वे, एयरपोर्ट र अन्य विभागका कर्मचारीहरू र अधिकारीहरूको उनीहरूलाई सहयोग हुन्छ । जुलाई २०१५ मा मानव तस्करीको यस किसिमको गोरखधन्धामा एयर इन्डियाका दुई जना कर्मचारी मनिष र कपिललाई पक्राउ गरिएको थियो । पछि दुवैको उपस्थितिमा महिलापुर इलाकाबाट २१ जना नेपाली केटीहरूलाई मुक्त गरिएको थियो । पुलिसका अनुसार एयर इन्डियाका कर्मचारी एक जना केटी पठाउन रु. ५००/ लिने गर्थे ।

यिनीहरूका एजेन्ट पूर्वी  भारतका एकदमै गरिब परिवारका केटीहरू तथा नेपालबाट केटीहरूलाई जागिर र बिहेको लोभ देखाएर भारतमा ल्याउने गर्छन् । यसरी ल्याइएका केटीहरूलाई टाढा अरब र खाडी देशहरू ओमान, मलेसिया, किर्गिस्तान, युएइ, कतार, कुबेत, साउदी अरब, सिरयिा र लेबनानमा बेचिने गरिन्छ । अधिकांश  बेचिएका केटीहरूको प्रयोग होटल र टुर एन्ड ट्राभल्स एजेन्सी चलाउनेहरूद्वारा  रेल्वे स्टेसन र एयरपोर्ट नजिकका होटलहरूमा  देह व्यापारका लागि गरिन्छ ।

नजिकका क्षेत्रका पब, वार, र रेस्टुराँमा पनि यी केटीहरूको प्रयोग गैरकानुनी उद्देयका लागि गर्ने गरिन्छ ।  यो बाहेक आगराजस्तो पर्यटक क्षेत्रमा पनि यी केटीहरूको प्रयोग देहव्यापारका लागि गरिन्छ । गाजियावादको लोनी इलाका त सेक्स रेकेटको थोक बजार बनिसकेको छ । तथ्याङ्क अनुसार २०१६ देखि २०१८को मार्चसम्म दिल्लीबाट मात्रै करिब २०८ मानव तस्करहरू पक्डेर उनीहरूको कब्जाबाट ९२६ बन्धकलाई छुटाइएको थियो, जसमा अधिकांश कम उमेरका केटीहरू थिए ।

यसअघि १ अगस्त २०१८ का दिन दिल्ली रेल्वे स्टेसनको नजिक पहाडगन्जको एउटा होटलबाट बनारस अपराध शाखाको पुलिसले ३९ जना केटीहरूलाई मुक्त गराएको थियो, जसमा १६ जना केटीहरू नेपालका थिए । बाँकी बिहार, झारखण्ड, पश्चिम बङ्गाल, जलपाइगुडीका थिए । सबै केटीहरूलाई खाडी देशमा बिक्रीका लागि बनारसबाट दिल्ली ल्याइएको थियो ।

त्योभन्दा पहिले २४ जुलाई २०१८ मङ्गलबारका दिन दिल्ली महिला आयोगले दक्षिण दिल्लीको मुनिरका इलाकाको एउटा घरबाट मध्यरातमा १६ जना नेपाली केटीहरूलाई मुक्त गराएको थियो  । यी केटीहरूलाई दलालले इराक र कुवेतमा विक्रीका लागि लैजाने तयारी गरेका थिए । मुक्त गरिएका केटीहरूले १५ दिनभित्र  दलालले २ जनालाई इराक र ५ जनालाई कबेत पठाइसकेको भनेर सुनाए । यिनीहरूमध्ये एउटी केटी गर्भवती थिई । गैरसरकारी संस्था तथा मानवअधिकारवादी कार्यकर्ताअनुसार नेपालबाट प्रतिदिन करिब ५० जना केटीहरू भारतमा ल्याइन्छ र यहाँ ती केटीलाई अलगअलग च्यानल र बाटोबाट खाडी देशहरूमा पठाइन्छ ।

२०१५ मा नेपालमा आएको भुइँचालोपछि नेपालबाट केटीहरूको तस्करीको ग्राफ बढेको छ । दिल्ली पुलिससहित अन्य एजेन्सीका रिपोर्टअनुसार सारा यो धन्धामा दिल्लीको एनसिआर नेपालबाट ल्याइएका केटीहरू बन्धक बनाएर राख्ने सुररिक्ष अड्डा बनेको छ, जहाँबाट पछि  केटीहरूलाई खाडी देशहरूमा बेचिने गरिन्छ । विदेश पठाएपछि  उनीहरूसित सम्बद्ध सबै रेकर्डअरू गायब पारिन्छ ।
हङ्कङलाई विश्वको सबैभन्दा ठूलो ‘नेपाली केटीहरूको देहव्यापार’ को बजार हो भन्ने गरिन्छ, जहाँ ११ वर्षका देखि १८ वर्षका नेपाली केटीहरूलाई जागिर दिने नाममा तस्करीका माध्यमबाट पुर्याइन्छ  । नेपाली केटीहरूलाई हङ्कङ पुर्याएर  वेश्यावृत्तिमा लगाउनु निकै फाइदाजनक  व्यवसाय बनेको छ ।

तथ्याङ्कअनुसार भारतीय सेक्स व्यापारमा ३ लाखभन्दा बढी नेपाली केटीहरू सामेल छन् । नेपालमा मान्छे सारै गरिबीको हालतमा जीवन गुजार्छन्, उनीहरूका लागि खेतीबाट जीवन गुजार्नु निकै गारो छ । अशिक्षित हुनुले उनीहरूका सामु अन्य काम पनि हुँदैन । गरिबी र लाचारीका परिणाम यस्तो हुन्छ कि कतिपल्ट त लाचार बाबुआमा नै आफ्ना  सानै उमेरका छोरीहरूलाई केवल १०देखि ३० हजार लिएर दलालको हातमा सुम्पिदिन्छन् ।

हामी तथाकथित सभ्य र विकसित देशका मान्छेहरू बढीभन्दा बढी यी लाचार बाबुआमालाई ढाडस मात्र दिनसक्छौँ । तर सत्य त के हो भने २०१५ मा आएको भूकम्प कुनै प्राकृतिक प्रकोप थिएन, त्यो भुइँचालो त पुँजीवादी देशद्वारा नेपाललाई दिइएको उपहार थियो, जसको मूल्य नेपाली जनता  आज पनि मानव तस्करी र देहव्यापारका रूपमा चुकाउन अभिशप्त छन् ।

( हिन्दी अनलाइन : janjwar.com बाट अनूदित )

भिडियो फिचरview all