menu

ताजा समाचार

दशैं र 'कमरेडहरूको दशैं'

ऋषिराज बराल

यतिखेर 'ह्याप्पी दशैँ', 'विजया दशमीको शुभकामना !' ले सामाजिक सञ्जालहरू भरिएका छन् । अनलाइनहरू र पत्रपत्रिकाका पन्नाहरू थरीथरीका  फूलबुट्टाले सजिएका छन् । महान् विजय प्राप्त भएजस्तो गरी कतिपयका लागि खुसीको दिन आएको छ -'विजया दशमी'  । मुलुकको स्थिति यस्तो बेहाल छ, न राष्ट्रियताको सन्दर्भमा, न त जनजीविकाको सन्दर्भमा, न त जनताको जीउ-धनकै सन्दर्भ, चित्त बुझाउने ठाउँ कतै छैन । तर पनि 'विजया दशमी'  भनिएको छ । केको विजय हो र  कसको विजय हो अत्तोपत्तो छैन  । भ्रान्तिकारी त हुने भए नै क्रान्तिकारीहरू भनिएकाहरू 'विजया दशमी'  को फूलबुट्टा भर्नमा मस्त छन् ।

चाडपर्वहरू समाज विकास र मानवजीवनको क्रिया-प्रतिक्रियाको  लामो सङ्घर्षका उपज हुन् । मान्छेले श्रम, सिर्जना र प्रकृतिसित गरेका सङ्घर्षहरूदेखि लिएर आफ्नो अस्तित्वका लागि गरेका हरेक सङ्घर्षहरू, त्यसमा पनि वर्गसङ्घर्षहरू र तीसित गाँसिएका घटना-परिणामहरू चाडपर्वसित गाँसिएका छन् । टोटेमवाददेखि मार्क्सवादसम्मको लामो इतिहासबाट चाडपर्वहरूको वैज्ञानिक अध्ययन र  विश्लेषण गर्दा यी निकै रोचक र विविधताले भरिपूर्ण अनुभूत हुन्छन् । जुनसुकै जातजाति वा धर्मावलम्बीहरू किन नहोऊन्, चाडपर्वहरूका प्रमुख तीनवटा स्रोतहरू रहेका छन्—१.प्रकृति,२. श्रमसामूहिकता-उत्पादन  र  ३.राज्यसत्ता ।

राज्यसत्तासित गाँसिएका चाडपर्वहरू, समाज विकासका क्रममा भएका वर्गङ्घर्षहरू र पराजित र विजयी पक्षको मानसिकता, चाहना, स्वार्थ, अहम् र विजयोत्सव आदिसित गाँसिएका छन् । खास घटनाप्रसङ्गलाई लिएर गरिएको रमाइलो र विजयी वर्गको दम्भ प्रदर्शनको घटना क्रमिक रूपमा पछिपछि गएर सत्ताधारी वर्गको संस्कृति बनेर धार्मिक सारतत्त्वमा  रूपान्तरित भई परम्परा, रीतिरिवाज, चालचलन, चाडपर्व र मेलाको रूपमा स्थापित भएका छन् । दास युग र सामन्ती युगको इतिहास र सत्ताचरित्रबाट मात्र पनि यो यथार्थ पुष्टि हुनआउँछ ।

राज्यसत्तामा जुन वर्गको प्रभुत्व छ,त्यसै वर्गको सांस्कृतिक वर्चस्व रहने वैज्ञानिक नियम हुनाले नेपाली समाजको सांस्कृतिक स्थिति र चाडपर्वहरूमा पनि सत्ता र संस्कृतिसम्बन्धी नीति र नियम लागू हुन्छ । सामन्तवादको आरम्भसँगै सामन्ती संस्कृति र  चाडपर्वहरू स्थापित भए र तिनले स्थयित्व प्राप्त गर्दैगए । दशैँ, तिहार तीज, कृष्ण अष्टमीजस्ता चाडहरू मात्र होइन, रूख-झारपात र रुख-पातसमेतलाई धार्मिक आवरण ओढाइदिएर हिन्दू धर्म र संस्कृतिले गर्नु नगर्नु गरेको छ । अरू कुरा त परै जावोस् स्वास्थ्यसम्बन्धी जडीबुटीलाई समेत धार्मिक आवरणमा प्रस्तुत गरेर सामन्ती संस्कृतिले त्यसको महत्त्वलाई धार्मिक रूढिमा फेरिदिएको छ । कतिपय चाडपर्वहरू प्रकृति र श्रमसित जोडिएका भए पनि सामन्ती  राज्यसत्ताले सम्पूर्ण चाडपर्वहरूलाई धार्मिक आवरणमार्फत सामन्ती सत्ता स्वार्थमा रूपान्तरण गरेको छ ।

नेपालका चाडपर्वहरूमध्ये दशैँको आयाम र प्रभाव सबैभन्दा बढी छ । दशैँसित विभिन्न सन्दर्भहरू गाँसिएका छन् । समय र सन्दर्भ हेर्दा यो  श्रम-सौन्दर्यसित गाँसिएर आउनुपर्ने थियो । कतिपयले यसलाई आर्य र अनार्यसितको सङ्घर्षसित जोडेको पाइन्छ ।  काली, देवी, चण्डी आदिको भूमिका भएकाले यसलाई  मातृसत्तात्मक अवस्थासित पनि जोड्ने गरिएको छ  । सरसरती हेर्दा दशैँको सम्बन्ध  विजयी वर्ग र समुदायको विजयोत्सवसित गाँसिएको सन्दर्भका रूपमा देखापर्छ ।  विडम्बना त के छ भने, योसित राम-रावण युद्ध र रामको विजयसित जोडेर, शुभ र अशुभ, सुन्दर र कुरूपको व्याख्या गरिएको छ ।  यो व्याख्यामा वैज्ञानिकताको मात्रा रत्तिभर पनि छैन । यो व्याख्यामा सामन्ती आदर्शलार्इ सुन्दर, शिव र सत्यसित जोडिएको छ ।

योसित जोडिएको उत्पादन इतिहासको घतलाग्दो तथ्य प्रकाशमा ल्याउन पनि यसको ऐतिहासिक भौतिकवादी व्याख्या आवश्यक छ । तर यसमा  धार्मिक सारत्वत्त प्रधान बनाई सामन्ती सत्तालाई जनसत्ताको रूपमा स्थापित गर्ने आधार बनाइएको छ । यसमा रामराज्य र रामआदर्शको आवरणभित्र विज्ञानविरोधी सामन्ती चिन्तनलाई स्थापित गरिएको छ । लामो अवधि ओगटेको दशैँ आजको युगमा समय र श्रमका दृष्टिले पनि व्यावहारिक र वैज्ञानिक छैन । जसरी पनि दशैँ  मान्नुपर्ने बाध्यताले कतिपयका लागि यो आर्थिक समस्याको पिरलो बनेको छ भने कतिपयका लागि यो  सामाजिक-आर्थिक आडम्बर र पुँजीप्रदर्शनको माध्यम भएको छ  । समयको बर्बादीका दृष्टिले  पनि आजको असाध्यै व्यस्त समयमा दशैं  उपयोगी र वैज्ञानिक छैन । अग्रजहरूबाट आशीर्वाद लिने र परिवारहरू भेटघाट गर्ने र रमाइलो गर्ने कुरालाई पनि आर्थिक पक्षले निर्धारित गर्छ । साथै आशीर्वाद कुनै पनि बेला लिन सकिन्छ । आशीर्वादका लागि दशैं नै पर्खनु आवश्यक छैन । जन्म दिन आशीर्वादका लागि सबैभन्दा उत्तम दिन हो र हुन्छ । वास्तवमा जन्मदिन हरेक व्यक्तिका लागि सबैभन्दा ठूलो पर्व हो । परन्तु, यहाँ आशीर्वाद प्रधान बनेको छैन, प्रधान पक्ष सामन्ती आदर्शको पालना र  धार्मिक परम्परा र चलन र आडम्बरको प्रदर्शन प्रधान पक्ष  बनेको छ ।

सामन्ती तथा पुँजीवादी संस्कृतिलाई विस्थापित गर्ने र नयाँ संस्कृतिलाई स्थापित गर्ने सन्दर्भमा चाडवाड र मेलापर्वसित सम्बद्ध केही विशिष्टताहरूमाथि ध्यान दिनु आवश्यक छ । ऐतिहासिक र वैचारिक दुवै दुष्टिले के कुरा सत्य हो भने जुन अनुपातमा राजनीतिक परिवर्तन हुन्छ, सोही अनुपातमा सांस्कृतिक परिवर्तन हुँदैन, यसले केही समय लिन्छ । तर त्यस दिशातिर हामीले केही गर्यौं कि गरेनौं ? हाम्रो प्रयास कस्तो रह्यो ? भन्ने कुरा चाहिं प्रधान हो । सामन्त वर्ग  र दलाल पुँजीपति वर्गले त्यतातिर सोच्ने कुरा भएन, र संशोधनवादीहरूका लागि पनि यो चासो र आवश्यकताको विषय होइन । सोच्नुपर्ने क्रान्तिकारी माओवादीहरूले हो । विडम्बना यसैमा छ ।

इमानदारीपूर्वक भन्नुपर्दा यो पक्ष पनि त्यति उत्साहप्रद छैन । क्रान्तिकारी कित्ताका भनिएका कतिपय  कामरेडहरू ठाडा चन्दनमा सजिएका हुन्छन् ।  कमरेडहरूको घरघरमा पाठपूजा र घण्टीहरू बिहानै बज्छन् । मठमन्दिरको नजिक पुग्दा तिनीहरूको टाउको निहुरिन्छ र हात जोडिन्छ । सामन्ती धार्मिक अनुष्ठानमा हाम्रा उच्च तह र नेत  नेतृत्वमा रहेका महिला कमरेडहरू रङ्गीचङ्गी भएर नाचिरहेका हुन्छन् । हातमा वलि राजाको डोरो बाँधेर र कानमा जमरा सिउरेर हाम्रा वौद्धिक-सांस्कृतिक क्षेत्रका नेताहरू आमूल परिवर्तन र सांस्कृतिक रूपान्तरणको भाषण फलाक्छन् । सेतो लुगा भिरेर तेर दिनसम्म गरूड पुराण लगाउँछन् र बाहिर आएर त्यसैको धुवाँधार विरोध गर्छन् ।  जिउँदो छउन्जेल बाआमको बेवास्ता गर्नेहरू मृत्युपछि अंशबंडाको झगडा गर्छन् । सोरश्राद्धको निर्वाह गर्छन् । स्वर्ग र नरकको चिन्ता छ उनीहरूलाई ।
दशैँमा हाम्रा सानाठूला कमरेडहरू श्रीमतीलाई पछिपछि कुदाउँदै र बालबच्चा घिसार्दै  निधारभरि राता टीकामा असिनपसिन भएर कुदेको देख्न पाइन्छ । सत्ताधारी खाओवादीहरूको त कुरै छाडौँ, उनीहरूको वर्ग नै अर्को भयो, चिन्तन नै अर्को भयो । आफूलाई संसारकै एक नम्बर क्रान्तिकारी भन्नेहरको पनि हालत यस्तै छ । कतिपय चाहिं घरभित्र निधारभरि टीका र कानभरि जमरा सिउरिन्छन् र बाहिर आएर पुछपाछ गरेर फोटो खिच्छन्, क्रान्तिकारी देखाउन । कतिपय त निधारभरिको टीका लगाएर फेसबुकमा राख्नुमा गौरव गर्छन् । यस्ता ‘कामरेडहरू’ स्वर्गको सपना देखाउने पाखण्डी धर्म गुरूहरूभन्दा खतरनाक हुन् ।  हाम्रा कमरेडहरूमा, श्रम, सङ्घर्ष, सङगठित शक्ति, क्रान्तिकारी आदर्शभन्दा धर्मगुरू र बाबाहरूमा विश्वास बढ्नथालेको छ । व्यवहारले यही कुरा देखाएको छ ।

एकातिर हामीले 'कम्युनिस्ट मेनिफेस्टो' तयार भएदेखि यता वर्गसङ्घर्षद्वारा निर्माण गरेका र श्रम र चेतनासित विकसित भएर स्थापित भएका चाडपर्वहरू बिर्सिदैगएका छौं, तिनलाई औपचारिकतामा सीमित पारेका छौं, रूग्ण र सामन्ती संस्कृतिलाई विस्थापित गर्नुको साटो त्यसैमा रमाउन थालेका छौं । हिजो हामीले महान् जनयुद्धका सन्दर्भमा निर्मित र जनसत्तासितै स्थापित हाम्रो बलिदानको इतिहाससित गाँसिएका चाडपर्वहरूलाई समेत आजभोलि बिर्सिसकेका छौं र सहरिया रमझममा रमाइरहेका छौं । नाम परम्पराको निर्वाह र संस्कृतिको रक्षा भनिन्छ, तर सबै कुरा आडम्बर र पुंजी र शक्तिको प्रदर्शनमा  गएर टुंगिन्छ ।
 
प्रश्न चिन्तनको हो । तपाईंहाम्रो मनमस्तिष्कमा रहेका  सामन्ती र रूग्ण पुँजीवादी चिन्तनविरुद्ध सङ्घर्ष गरेर नै हामी, हामीभित्रको सामन्ती-पुरोहितवादी चिन्तन र संस्कृतिलाई परास्त गर्न सक्छौं । पहिले हामी आफैँभित्र र  हाम्रै घरपरिवारभित्र वैचारिक शुद्धीकरण आवश्यक छ । आफैंभित्रको सामन्ती-पुरोहितवादी संस्कृति नफालुन्जेलसम्म हामी समाजमा रहेका गलत चाडपर्वहरूलाई विस्थापित र  निषेध गर्न र नयाँ र वैज्ञानिक चाडपर्व स्थापित गर्न सक्षम हुन सक्तैनौं । फेसबुकका 'विजया दशमी' भन्ने र निधारभरि टीका र जमरा लाउने कामरेडहरूले जनताका बीच गएर कसरी सामन्ती संस्कार र  संस्कृतिको विरोध गर्न सक्लान् ! लडाइं भित्र र बाहिर दुवै मोर्चामा तीव्र बनाउनु आवश्यक छ ।
सामन्ती सोचाइ र संस्कृतिलाई टेवा पुर्याउने चाडपर्वहरूको विस्थापन गर्ने भनेको पुँजीवादी संस्कृति र चाडपर्वहरूलाई ठीक ठहर्याएर व्यवहारमा लागू गर्ने होइन भन्ने कुरामा पनि हामी त्यत्तिकै सचेत हुनु आवश्यक छ । यताका दिनमा पाश्चत्य पुँजीवादी सांस्कृतिक विकृतिको विस्तार जसरी भइरहेको, यो कम खतरनाक छैन । परम्पराको निर्वाहका नाममा उपभोक्तावाद हाबी बनेको छ, चाडपर्वहरू भड्किला र पुंजी प्रदर्शनका माध्यम बनेका छन् । साथै सामन्ती संस्कृतिको विरोधमा  पाश्चात्य विकृत संस्कृति ठीक हो भनेर अभिमत दिन सकिँदैन र पाश्चात्य संस्कृतिको विरोध र “नेपाली संस्कृतिको जगेर्ना” का नाममा मोदी मार्काको हिन्दू फासिवादी सांस्कृतिक  पाखण्डीपनलाई पनि कदापी  सही मान्न सकिँदैन ।

यथार्थतः पुराना, विषाक्त र जनविरोधी चाडपर्वहरूको विस्थापन र नयाँ जनपक्षीय र वैज्ञानिक चाडपर्वहरूको स्थापनाको प्रयास आफैंमा वर्गसङ्घर्षको स्वरूप हो । यो समाजमा रहेका गलत प्रवृत्ति र सामन्ती संस्कृतिसित मात्र जुध्ने कुरा होइन, यो त  तपाईँ-हाम्रै दिलदिमागमा रहेका सामन्ती सोचाइ र पाखण्डी चिन्तन  र उपभोक्तावाद र पुंजीवादी दम्भ विरुद्ध लड्ने कुरा पनि हो । विडम्बनाको कुरा के भएको छ भने, गलत चिन्तनविरुद्ध आन्दोलनको अगुवाइ गर्नुपर्नेहरू नै गलत सांस्कृतिक चिन्तन प्रवृत्तिलाई टेवा पुर्याउने कामकुराको प्रचार अभियन्ता बनिरहेका छन्   । यस्तो बेला थप जटिलता पैदा हुन्छ । त्यसैले भित्र-बाहिर सङ्घर्षलाई नचर्काईकन सर्वहारावादी मानवतावादमा आधारित नयाँ संस्कृति र नयाँ  चाडपर्वहरूको स्थापना सम्भव छैन । यसलाई राज्यसत्ता प्राप्तिको आन्दोलनसित जोडेर लैजानु पर्दछ  र निरन्तर क्रान्तिको मूल्यद्वारा निर्देशित भई अगाडि बढ्नु पर्दछ ।  चाडपर्व र तिनका बारेमा  बहस छलफल गर्दा यी सबै पाटा र पक्षलाई अगाडि राख्नु पर्दछ । प्रस्ट रूपमाभन्दा दशैं लगायतका परम्परागत चाडपर्वहरू मार्क्सवादीहरूको सांस्कृतिक धरातललाई बुझ्ने, परख गर्ने आधार चाहिं हुन् ।

एकथरीका लागि त आयो । ती १३ हजार सहिदको रगतमा 'विजया दशमी' को रमाइलो मनाइरहेका छन् । कमरेडहरू ! हाम्रो विजयको दिन आउँन अझै बाँकी छ ।
०००


भिडियो फिचरview all