menu

ताजा समाचार

सिंहदरवार र ‘सिके राउतहरू’

ऋषिराज बराल

‘संविधान दिवस’ का सन्दर्भमा जनकपुरमा सिके राउतले बोलेको कुरा यो देशलाई माया गर्ने, यो देशको सार्वर्भाम सत्ताको चिन्ता गर्ने कुनै पनि नेपालीलाई पच्न सक्ने कुरा थिएन ।  उनले जे बोले, यो देशको माटोमा जन्मेको कुनै पनि नेपाली नागरिकले बोल्ने त के सोच्नेसम्म कुरा थिएन ।  उनको  भनाइ सोझै राष्ट्रघाती विखण्डनकारी दलाल  चिन्तनप्रवृत्तिको उपज थियो । राउतले प्रचार चाहेको र पक्राउ गर्दा झन् बढी होहल्ला हुन्छ  भनेर हो अथवा के कारणले हो,  सरकारले राउतको राष्ट्र विखण्डनकारी भनाइलाई सामान्य रूपमा लियो, पक्राउ गर्नु आवश्यक ठानेन । सोही दिन २ नम्बर प्रदेशका कतिपय मन्त्रीले फरक ढङ्गले राउतकै चिन्तन प्रयोग गरेको कुरा पनि जनटिप्पणीको विषय बन्यो । सङ्घीयताको ‘मर्म’ राम्रोसित प्रदर्शित भयो ।

राउतको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानप्रति गम्भीर कुनै पनि नेपालीलाई आक्रोसित तुल्याउन स्वाभाविक थियो, प्रतिक्रियाहरू सार्वजनिक भए ।  तर, मधेस भनिने क्षेत्रका बुद्धिजीवी, त्यसमा पनि मार्क्सवादी भनिएका बुद्धिजीवीहरूले समेत यसबारे केही प्रतिक्रिया व्यक्त गर्नु आवश्यक ठानेनन् । यताका नबोले पनि अमेरिकामा बस्दै आएका नेपालीहरू  राजेश साह, प्रणय साह, सर्वेश मण्डल, विनयविक्रम वर्मा, रविकान्त गुप्ता, अभि गुप्ता, सत्य साह, रञ्जन साह, कृष्ण गुप्ता, सञ्जय चौधरी, राजीव साह, राज साह, अजय गुप्ता, विकेश यादव, राजनन्दन यादव, राजेश जयसवाल, अर्जुन मण्डल, रमेश यादव, जितेन्द्र साह लगायतका युवाहरूले  “हामी नेपाल टुक्रिन दिन्नौँ !” नामको अभियान थालेको कुरा सार्वजनिक गरेका छन्  । यो बडो स्वागतयोग्य कुरा हो ।

राउत फेरि पक्राउ परेका छन् । अब कोको राउतको पक्षमा झण्डा लिएर निस्कने हुन् हेर्दै जाँदा थाहा हुन्छ ।

राष्ट्र विखण्डनकारी भाषण गरेवापत २०७१ साल भदौमा राउतलाई पक्राउ गरिएको थियो ।  त्यतिबेर नेपालबारे जानकारी राख्ने भनिएका बेलायती प्राध्यापक माइकल हटसहित त्यहाँका केही बुद्धिजीवीले राउतको पक्षमा वक्तव्य प्रकाशित गरेका थिए । राउत किन समातिए भन्ने कुरा राम्ररी नबुझी माइकल हटजस्ता विद्वानले वक्तव्य निकाल्नु दुखःको कुरा हो भनेर खरो  टिप्पणी भएको थियो । तर, विडम्बनाको कुरा नेपालका आफूलाई अबल दर्जाका ठान्ने 'बुद्धिजिवीहरू'  दमननाथ ढुङ्गाना, पद्मरत्न तुलाधर, श्याम श्रेष्ठ, खगेन्द्र सङ्ग्रौला, सिके लाल, कृष्ण हाथेछु, मल्ल के सुन्दर, कृष्ण भट्टचन, हरि रोका, विजयकान्त कर्ण, राजेन्द्र महर्जन, झलक सुवेदी, पासाङ सेर्पा, धिरेन्द्र प्रेमर्षी, गणेशकुमार मण्डल, विमल अर्याल, तुलानारायण साह, अनुभव अजित, युग पाठक, उज्ज्वल प्रसाईँ, चिरण मानन्धर, राजेश अहिराज, रवि ठाकुर र ज्ञानु अधिकारीले राष्ट्र विखण्डनकारीको पक्षमा संयुक्त वक्तव्य प्रकाशित गरेका थिए ।  यिनीहरूमध्ये कतिपय भारतीय विस्तारवादले नेपाली  जनतालाई भोकभोकै मार्न नाकाबन्दी लगाउँदा  विस्तारवादका दलाल कथित मधेसी नेतासित सिमानामा  नारिएर धर्नामा बस्न गएको कुरा पनि स्वाभिमानी नेपालीलाई थाहा भएको कुरा हो ।

सरसती हेर्दा राउतको  व्यवहार बहुलट्ठीपूर्ण जस्तो लागे पनि वास्तवमा त्यत्रो पद र सुविधा त्यागेर उनी  त्यसै नेपाल आएका छैनन् ।  उनी ठूलै मिसन, दीर्घकालीन योजनाका साथ आएका/पठाइएका हुन् भन्ने कुरा बुझ्नु पर्छ  ।
विषयवस्तुलाई प्रस्ट पार्न अलिकति व्याख्याको आवश्यकता छ ।

दोस्रो विश्वयुद्धपछि, खासगरेर भियतनाम युद्धमा अमेरिकी पराजयपछि साम्राज्यवादले अन्य मुलुकहरूमा आफ्नो प्रभुत्व कायम गर्न लाल झण्डाको विरुद्ध लाल झण्डाको प्रयोग, आइएनजिओहरूको स्थापना र परिचालन तथा भूमण्डलीकरण जस्ता योजनाहरू अघि  सार्यो । वर्तमानमा सक्रिय विदेश निर्देशित थरीथरीका मानवअधिकारवादी सङ्घ-संस्थाहरू पनि यसै योजनाबद्धताका उपज हुन् । यिनको प्रमुख काम सबैभन्दा बढी कम्युनिस्ट आन्दोलनको विरोध गर्नु र मानवअधिकारका नाममा यथास्थितिवाद र साम्राज्यवादको सेवा गर्नु हो । यस्ता संस्थाहरू विभिन्न मुलुकमा विभिन्न नामले सक्रिय भएका छन् र तिनले खास मुलुकको ‘आवश्यकता’ अनुसार आफूलाई परिचालित गर्छन् । यस्ता अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाहरूले गर्ने गरेका 'बहादुरीपूर्ण' कामका लागि पश्चिमा शक्ति राष्ट्रहरूले ठूलो लगानी गर्ने गरेको कुरा पनि सबैलाई थाहा भएको कुरा हो । कनकमणिहरू र चरणप्रसाईँहरूको व्यवहारले सबै कुरा खुलस्त भएका छन् ।

यसको कोर्स पनि देशकाल परिस्थितिअनुसार फेरिने गरेको छ । पछिल्ला दिनमा नेपालमा सङ्घीयता र पहिचानका नाममा पश्चिमाहरू निर्देशित राजनीतिले नयाँ कोर्स लिन थालेपछि आइएनजिओहरूको ओइरो लागेको हो ।  आइएनजिओवादीहरूलाई अहिले भ्याइनभ्याइ भएको छ । भारतीय विस्तारवादले झैँ आइएनजिओका मालिकहरू हरेक राजनीतिक पार्टीमा आफ्ना प्रतिनिधि तयार पार्न तथा प्रवेश गराउन सफल भएका छन् । त्यस्ता प्रतिनिधिहरू पार्टीको भाषा होइन, आइएनजिओको भाषा बोल्छन् र मुलुकलाई वैदेशिक शक्तिकेन्द्रहरूको स्वार्थ पूरा गर्ने साधन बनाउन कम्मर कसेर लागेका हुन्छन्, नीतिनिर्माण र ऐनकानुन निर्माणमा समेत उनीहरूको अगुवाइ हुन्छ र भइरहेको छ ।
भूगोल र ‘सेवा क्षेत्रहरू’ को पनि भागबण्डा हुन्छ । पहाडमा एकथरी अनुहारहरू सक्रिय हुन्छन् र  तराईमा अर्का थरी अनुहारहरू । पहिचान र अधिकारका नाममा साम्राज्यवादी-विस्तारवादी एजेन्डालाई अल्पकालीन र दीर्घकालीन योजनामा रूपान्तरित गरिन्छ । अनि पहिचानवादी राजनीतिका नाममा मुलुक टुक्र्याउने, सार्वभौम सत्ता विखण्डन गर्ने कुरालाई न्यायोचित ठहर्याइन्छ  । यस्ता कुकृत्यहरूलाई मानवअधिकारको खोल ओढाएर सही साबित गर्ने दुस्प्रयासहरू हुन थाल्छन् ।

कुनै पनि मुलुकको सबैभन्दा गम्भीर प्रश्न भनेको सार्वभौम सत्ताको प्रश्न  हो । आफ्नै माटोमा टेकेर मुलुक टुक्र्याउने कुरा सबैभन्दा ठूलो अपराध हो । साम्राज्यवादीहरू तथा विस्तारवादीहरूको जुठोपुरो खाएकाहरूले मात्र आफूलाई यति तल्लो स्तरमा पुर्याउँछन् । तर, यतिखेर नेपाल यस्तो मुलुक भएको छ, जहाँ मुलुक विखण्डनको वकालत  गर्ने गराउने कार्यलाई  बहादुरी ठहर गरिन्छ र त्यसको समर्थन गर्नुलाई जिम्मेवारीबोध र दायित्व ठानिन्छ । नेपालका एक थरी मानवअधिकारवादीहरू र बुद्धिजीवीहरूले यस्तै बहादुरी गरेर ऐतिहासिक कलङ्कका रूपमा  आफ्नो नाम दर्ज गरेका छन् । यो भन्दा विडम्बनाको विषय अरू हुन सक्तैन ।

२००७ सालको सेरोफेरोदेखि नै सके सिङ्गै एकैचोटि, नभए टुक्राटुक्रा पारेर नेपाललाई निल्ने भारतीय योजना देशकाल परिस्थिति अनुसार विभिन्न रूपमा व्यवहारमा आउने गरेको छ । सिंहदरवारमा बहुमत निर्माण गरेर हुन्छ अथवा अरू कुनै उपायद्वारा चुरेदक्षिण अलग पार्ने बृहत् योजना विभिन्न रूपमा सक्रिय भयो र भइरहेको छ र यसका लागि विभिन्न समयमा विभिन्न पात्रहरू खडा गरिने गरिन्छ । यो योजनाले उत्पन्न गरेको पछिल्लो पीडा नेपालीले नाकाबन्दीका रूपमा भोगे । दक्षिणको पीडा त छँदै थियो, पछिल्ला दिनमा युरो-अमेरिकीहरू ‘ककस’, ‘पहिचानवाद’, ‘स्थानीयतावाद’ र 'अन्योलता' को नयाँ बाइबल, उत्तरआधुनिकतावादी-साम्राज्यवादी  एजेन्डा बोकेर नेपाल प्रवेश गरे । विडम्बनाको कुरा के छ भने,  आफूलाई क्रान्तिकारी भन्नेहरूसमेत सुझ न बुझ ''व्राम्हणवाद'  र '' पहाडिया उच्च जाति अहंकारवाद"  भन्दै त्यसैको पछि लागेका छन् !  कहाँ छ नेपालमा यतिखेर 'पहाडिया उच्च जाति अहंकारवाद' ? के हो  'ब्राम्हणवाद' ?

पहाडी र हिमाली क्षेत्रमा विभिन्न किसिमका आइएनजिओहरू सक्रिय छँदै थिए, अनेक फाउन्डेसन आदिको नाम दिएर तराईमा पनि आइएनजिओहरू सलह बनेर प्रवेश गरे । डलरखेतीका लागि निकै उर्बर देखिएको तराईमा प्रवेश गर्नका लागि पढेलेखेका लोभीपापीहरू नै सबैभन्दा बढी सहज हुनु स्वाभाविक थियो । नाम लिनु आवश्यक छैन, यस्ता फाउन्डेसनसित तराई-मधेसका बुद्धिजीवी भनाउँदाहरू र लेखक भनाउँदाहरू को को सम्बद्ध छन् र उनीहरूका ‘बौद्धिक क्रियाकलापहरू’ केकस्ता छन् भन्ने कुरा पनि सबै सतहमा आइसकेका छन् । सिके राउतको समर्थनमा आएको संयुक्त वक्तव्यले पनि यसै कुराको पुष्टि गर्छ । तिनीहरूको सम्बन्ध र सहकार्य कताकता छ भन्ने कुरा पनि खुलस्त भइसकेको छ ।

नेपालको सार्वभौम सत्ता विरुद्ध हिजो इन्दिरागान्धीले तयार पारेको योजनालाई नयाँ किसिमले पूरा गर्न तयार पारिएका थरीथरीका पात्रहरू देशकालअनुसार सिंहदरवारको कुर्सीमा पनि सक्रिय बनेको कुरा  सबैलाई थाहा छ । कोही सोझै यो मुलुक टुक्रयाएर ‘मधेस देश’ घोषणा गर्छु भन्छ ।  यो भनेको भारतीय झण्डा गाड्छु भनेको हो ।  अनि कोही  चाहिँ आफूले भनेजस्तो संविधान भएन भने  “नेपालको नक्सा फेरिन सक्छ” भनेर सिंहदरवारभित्रै धम्की दिन्छ । कति सजिलै भनिदिन्छन् नक्सा फेरिने कुरा ! जुन समुदायले यो मुलुकको चार किल्ला निर्माणमा रगत त के पसिना बगाएन, उसलाई नेपालको माया नहुनु अचम्मको विषय पनि भएन ! भाषा फरक भए पनि यो पनि  राउतकै नारा हो । जब जनदबाबले बाध्य भएर सरकार राष्ट्रद्रोही अपराधीलाई पक्राउ गर्न बाध्य हुन्छ, त्यतिबेर मानवअधिकारको खोल ओढेका राष्ट्र विखण्डनकारीका मतियार मानवाधिकारवादीहरू कोकोहोलो मच्चाउँदै र  नाङ्गेझार हुँदै राउतलगायतका राष्ट्रद्रोहीको पक्षमा उभिन्छन् । वास्तवमा मानवअधिकारको आवरणमा राष्ट्र विखण्डनकारीको वकालत गर्नेहरू राउतभन्दा पनि महाअपराधी हुन् । यस्ता  नकारात्मक घटनाहरूले राष्ट्र विखण्डनको षड्यन्त्रमा के-कस्ता पात्र तथा संस्थाहरू सक्रिय रहेछन् भन्ने जानकारी  चाहिं भएको छ ।
 
एउटा सिके राउत सडकमा वितण्डा मच्चाइरहेको छ, उसलाई जे गर्न र बोल्न छुट छ भनेजस्तो देखिन्छ र अर्का थरी ‘सिके राउतहरू’ संसदभवन र सरकारमा बसेर सिके राउतकै नारा फलाकिरहेका छन् ।  तिनको भनाइमा  मधेसका नेपालीलाई   नागरिकता दिने  नाममा भारतीय सालासाली, भान्जाभान्जी, सासुससुरा, तीन  पुस्ते सबैलाई नागरिकता दिनु पर्छ भन्ने हो । भारतपरस्तहरूको बहुमत भएपछि सिक्किममा झैँ जनमत सङ्ग्रह गरे मात्रै  पनि पुग्छ, भारतीय सेना पठाउनै पर्दैन । महन्थ ठाकुर “नेपालको नक्सा फेरिन सक्छ” भनेर धम्की दिने  र  राजेन्द्र महतो चाहिं नुनको सोझो  गर्दै नेपालको राष्ट्र भाषा, नेपालीको मातृ भाषा मैथिलीभन्दा भारतीय राज भाषा हिन्दीको पक्षमा सदनमा कुर्लने । कस्तो विडम्बना !

यो सरकार आफूलाई वामपन्थी भन्छ । बेलाबेलामा दुईतिहाईको धमास पनि दिन्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को ढोल पनि पिट्ने गर्छ । दक्षिण सिमाना खुम्चिएको खुम्चिएै छ, सुस्तावासीहरूको पीडा सिंहदरबारसम्म आइपुग्दा पनि वास्ता छैन  । नेपालको नक्सा र झण्डाबाट आफ्नो जमिन गायब भएकोमा अलिकति पनि छाती चस्केको छैन, अलिकति पनि चटपटाएको स्थिति छैन । नेपालको क्षेत्रफल १० हजार किमी घट्ता पनि यिनलाई चिन्ता  छैन । सरकारको स्थिति हेर्दा सरकार  आफैँ  विदेशीले चलाएको आइएनजिओमा परिणत भएको त छैन भनेर प्रश्न उठाउनु पर्ने स्थिति उत्पन्न भएको छ ।

यस्तो बेला,  राष्ट्रिय स्वाधीनता र जनपक्षीय मूल्यको रक्षाका लागि बोली र कलम अपुग ठानेर कसैले बन्दुकको विकल्प खोज्यो भने अन्यथा ठान्नु हुँदैन ।

असोज २२, २०७५
०००
साभार : jandisha.com
भिडियो फिचरview all