menu

ताजा समाचार

पार्टी नेतृत्त्वलाई चुनौती दिंदै क्रान्तिकारी पत्रकारद्वारा रावतको नेतृत्वमा पदाधिकारी चयन

नेपाल कम्युनिस्ट पार्टी-बिप्लव सम्बद्ध क्रान्तिकारी पत्रकार सङ्ठन, नेपालको गत वैशाख १४, १५ र १७ गते भएको राष्ट्रिय सम्मेलनद्वारा निर्वाचित ५१ सदस्यीय केन्द्रीय समितिको पूर्ण बैठक बसी केन्द्रीय अध्यक्षसहित विभिन्न पदाधिकारीहरू चयन गरेको कुरा सङ्गठन सम्बद्ध पदाधिकारीहरूले जानकारी गराएका छन् ।  असोज ११ गते बसेको बैठकले अध्यक्षमा डिल्ली रावत, नगरकोट सम्मेलनले दुई जना उपाध्यक्ष रहने गरी विधान संशोधन गरेअनुसार उपाध्यक्षद्वयमा दिपबहादुर घर्ती मगर र जन्मदेव जैशी, महासचिवमा बाबुराम भुसाल रहेका छन् । त्यसै गरी विधानअनुसार ९ जना सचिव उन्नति चौधरी, जीवन हमाल, रुपेन्द्र एैडी, राजेन्द्र अधिकारी,बैकुण्ठ गिरी,राजकुमार महर्जन,सहदेव थापा लगायतका छन् ।  प्राप्त जानकारी अनुसार उनीहरूलाई सातवटा प्रदेश, काठमाडौँ उपत्यका र  बिभिन्न प्रतिष्ठान हेर्ने जिम्मेवारी दिइएको छ । त्यस्तै कोषाध्यक्षमा तिलक अधिकारीलाई चयन गरिएको छ ।

बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने  सरकारी नीति तथा व्यवहारका विरुद्ध सशक्त आवाज उठाउने, जनपक्षीय पत्रकारितालाई नयाँ उचाइमा उठाउन रचनात्मक कार्य गर्ने निर्णय गरेको कुरा पनि सम्बद्ध सूत्रले जनाएको छ । 

क्रान्तिकारी पत्रकार सङ्गठनको राष्ट्रिय भेलाको निर्णय विपरीत  र  केन्द्रीय समितिको जानकारीबिना नै  प्रकाश डुम्रेलगायतका केही व्यक्तिले आफैँ बैठक बसी आफूलाई अध्यक्ष घोषणा र अन्य केहीलाई विभिन्न पद वितरण  गरेको भनी यसअघि नै केन्द्रीय समितिले प्रकाश डुम्रेसहितका सदस्यहरूलाई, अवैधानिक काम गरेको , पत्रकार सङ्गठनलाई बदनाम गरेको भनेर कारवाही गरिसकेका हुन् । ३९ जना पत्रकारहरूले वक्तव्यसमेत प्रकाशित गरेर समग्र स्थिति जानकारी गराएका थिए ।

पार्टीले भने प्रकाश डुम्रेको नेतृत्व नै आधिकारिक  भनेपछि सम्मेलनले चयन गरेको केन्द्रीय समितिलाई बेवास्ता गरेर केही व्यक्तिले गरेको चाकरी र आर्थिक मिलानकै कारण बिप्लवका दाजु विरजङ प्रभावित भएको र उनको प्रभावमा आएर विप्लवले समेत गलत निर्णय गरेको कुरा पत्रकारहरूले टिप्पणी गर्ने गरेका छन् ।

यसैबीच ''पार्टीले आधिकारिक भनेर ५/६  जनाको टोलीलाई मान्यता दिएको छ, तपाईँहरू यसलाई आधिकारिक भन्नुहुन्छ, अब कसरी जानुहुन्छ", भनेर  एक जना पदाधिकारीलाई सोध्दा, “विधान, विधि-प्रक्रिया आदि समग्र दृष्टिले हामी नै आधिकारिक हौँ, हामी त्यही पार्टीमा छौँ र पार्टीलाई गल्तीकमजोरी भएको कुरा महसुस गरी सच्याउन पनि अनुरोध गछौँ । पार्टीले नै सारा विधिविधान मिचेर निर्णय गरेपछि उजुर हाल्ने ठाउँ पार्टी हो, यसले सत्यतत्यलाई नसुन्ने हो भने के गर्दा सही हुन्छ सल्लाहले निर्णय गर्छौं ” भनेर उनले जवाफ दिए । 

क्रान्तिकारी पत्रकार सङ्गठन कसरी जान्छ, त्यो  त पछिका दिनमा नै थाहा होला । तर अहिले देखिएको स्थितिले शुभको सङ्केत गर्दैन । चुनौती दुवैतिर छन् ।
भिडियो फिचरview all