menu

ताजा समाचार

माओवादी नेता कोबाद घान्दीको स्वास्थ्यस्थिति नाजुक : परिवारका सदस्यलाई पनि भेट्न दिइएन

गत वर्ष अदालतले रिहाइ गरे पनि विभिन्न थप अभियोग र मुद्दा लगाउँदै भारतका विभिन्न जेल हुँदै पछिल्लोपल्ट झारखण्ड कारगारमा बन्दी अवस्थामा राखिनुभएको भारतीय कम्युनिस्ट पार्टी  (माओवादी) का ७१ वर्षीय नेता कोबाद घान्दीको स्वास्थ्य स्थिति एकदमै नाजुक भएको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । वहाँको स्वास्थ्यस्थिति र उपचारका बारेमा बारम्बार प्रश्न उठाउँदा पनि जेल प्रशासनले कुने चासो नदेखाएको कुरा पनि समाचारमाध्यमहरूले  प्रकाशमा ल्याएका छन् । वहाँलाई बोकारो तेनुघाट सब-डिभिजन जेलबाट गत मार्चमा जयप्रकाश नाराणण केन्द्रीय कारागार हजारिबागमा सारिएको थियो  ।

वहाँ आफू स्वयं, परिवारका सदस्यहरू र मानवअधिकारवादीहरूले समेत  वहाँको स्वास्थउपचार राँची लगेर गर्न बारम्बार अनुरोघ गरे पनि जेल प्रशासानले चासो नराखेको कुरा पनि समाचारपत्रहरूले प्रकाशित गरेका छन् । विभिन्न रोगबाट पीडित घान्दीको पिसाब र रगतमा गम्भीर इन्फेक्सन भएको देखिएपछि वहाँले यसबारे सार्वजनिकरूपमा नै चिठीमार्फत स्थिति अवगत गराउनु भएको थियो ।

वहाँ आर्थिटिजलगायत  प्रोस्टेट क्यान्सरले पीडित हुनुहुन्छ ।

वहाँलाई डाक्टरले राँची अस्पतालमा तुरुन्त लैजान भनेर सिफारिस गरेको कुरा पनि  सार्वजिनक भएको थियो । फेब्रवरीमै तुरुन्त उपचार गर्न भनिएको भए  पनि अहिलेसम्म औषधीउपचार नगराइएका कारण  वहाँको स्थिति नाजुक बनेको कुरा परिवारका सदस्यले बताएका छन् ।
वहाँलाई २००९ मा पहिलोपल्ट पक्राउ गरिएको थियो ।

बाहिर लगेर औषधी गर्न इजाजत नपाएकाले बाहिर लैजान नसकेको भनेर  जेल प्रशासनले भने पनि पनि वहाँलाई जेलमै सडाउने नियत भएको कुरा प्रस्ट भएको भनेर वहाँका शुभचिन्तकहरू तथा सामाजिक कार्यकर्ताहरूले बताएका छन् ।

कोबाद घान्दीको स्वास्थ्यस्थिति नाजुक भएको कुरा सार्वजनिक भएपछि वहाँका शुभचिन्तकहरू भेट्न जेलमा जाँदा भेट गर्न नदिई फर्काइयो ।  वकिललाई समेत भेट्न दिइएको छैन र महिनौँ भयो आफूले भेट्न नपाएको भनेर वहाँकी ६९ वर्षीय बहिनीले बताउनुभएको छ ।

आजभन्दा ४६ वर्षअघि मुटुका बिरामी कमरेड चारु मजुमदारलाई औषधीउपचार नगरी जेलमै हत्या गरिएको थियो । ९० प्रतिशत विकलाङ्ग मुटुका बिमारी प्राध्यापक साइबाबालाई पनि नक्कली अभियोग लगाएर आजीवन कारावासको सजाय तोकिएको छ र विश्वभरिका बौद्धिक समुदायले वहाँको रिहाइका लागि आवाज उठाइरहेको छ । कोबाद घान्दीको औषधीउपचारप्रतिको सरकारी बेवास्ताले सरकार जेलमै वहाँको हत्या गर्ने योजनामा लागेको त छैन भनेर बौद्धिक समुदाय तथा मानवअधिकारवादीहरूले प्रश्न गर्नु स्वाभाविक भएको छ ।


भिडियो फिचरview all