menu

ताजा समाचार

नव-प्रतिक्रियावादी क्याम्प : क्रान्तिकारीहरूका सामु नयाँ चुनौती

गत सालदेखि एकताको प्रक्रियामा संलग्न प्रतिक्रियावादमा पतन भएका नेकपा (एमाले)  र नेकपा (माओवादी केन्द्र)बीच एकता भएको छ र उनीहरूले आफ्नो पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलगत्तै भएको यो एकता  मार्क्स  र लेनिनको जन्म दिवसमा नभएर संयोगवस एमालेका पूर्व महासचिव मदन भण्डारीको हत्या भएको दिन भएको छ । यी दुई पार्टीबीचको एकता ढिलो हुनुको कारणलाई  वैचारिक  तथा राजनीतिक पक्षभन्दा पनि ओलीको व्यवहार र कार्यशैली र प्रचण्डका केही आग्रह, आशङ्का र भूमिकाको सुनिश्चिततासित जोडेर हेरिने गरिएको थियो ।

मोदीका सामु ओली लम्पसार परेको घटनापछि ओलीको राष्ट्रवाद र लम्पसारवादी प्रवृत्ति चोतर्फी रूपमा टिप्पणीको विषय बनेको थियो । राष्ट्रिय स्वाधीनताप्रति समर्पित जनता र क्रान्तिकारी शक्तिहरू सडकमा निस्केका थिए । पत्रपत्रिका तथा राजनीतिक बजारमा ओली-प्रचण्ड एकता भङ्ग हुने, नयाँ समीकरण बन्नेदेखि लिएर मध्यावधितिर मुलुक जान सक्ने सम्भावनाका कुराहरू पनि उठ्न थालेका थिए । ओलीको व्यवहारबाट निरास भएका ऊर्जा मन्त्री वर्षमान पुनले त एमाले भन्दा पहिले बैद्य र बिप्लवसित एकता गर्नुपर्छ भनेर कुण्ठा र निरासा समेत व्यक्त गरेका थिए । अनावश्यकरूपमा मोदीलाई बोलाएर राष्ट्रिय सम्पति बुझाएको, पहाड र ‘मधेस’ बीच द्वन्द्व बढाएको र भारतीय प्रतिक्रियावादलाई खेल्ने मौका दिएको भनेर व्यापक टीकाटिप्पणी भइरहेको अवस्थामा, एक हिसाबले एकताप्रक्रियामै प्रश्न उठ्न थालेको अवस्थामा भएको यो एकतालाई “चमत्कारपूर्ण परिणाम” भन्नु बेठीक हुँदैन ।

दुई पार्टीबीचको एकतापछि वैचारिक र राजनीतिक पक्षमा खासै समस्या नदेखिए पनि विरासतीय इतिहास र फरक स्कुलिङका कारण काम गराइको शैली, सङ्गठनात्मक तारतम्य र मनोविज्ञानमा भने केही समस्या देखिन सक्छ र केही समयपछि विस्तारै अभ्यस्त हुँदै जाने हुन्छ । अवश्य पनि माकेभित्र २०० जनामा नपर्नेहरू, ४५  जनतामा नपर्नेहरूमा असन्तुष्टि देखिन सक्छ तापनि विचार र राजनीतिमा यथास्थितिवादलाई स्वीकार गरिसकेकाहरूबाट आउने असन्तुष्टिको आयु त्यति लामो हुने गर्दैन । ज-जसले एमालेसित एकता गर्नु हुँदैन भनेर भिन्न मत राखेका थिए, उनीहरू समूहसमूह बनाएर पहिले नै अलग्गिएकाले यो एकतापछि ग्रासरुट तहका एकाध  कायकर्ताहरूले विकल्प खोज्न सक्ने भए पनि सङ्गठितरूपमा अब नयाँ विकल्प खोज्दै त्यहाँबाट नेताकार्यकर्ताहरू “विद्रोह” मा आउँनेछन् भनेर भन्न सकिने स्थिति छैन । आए भने यो स्वागतयोग्य कदम मान्नुपर्छ । विद्रोह गर्नु आफैँमा महत्वपूर्ण कुरा भए पनि विकल्पको रोजाइ अझ महत्वपूर्ण पक्ष हो । विद्रोह गर्नेहरूले भर पर्दो विपल्प खोज्छन् र त्यो भरपर्दो विकल्प दिन सक्नु, विश्वासको आधार निर्माण गर्नु क्रान्तिकारीहरूको दायित्व हो ।

नयाँ-पुराना प्रतिक्रियावादीहरू आआफ्नो क्याम्प सुदृढ बनाउन लागेको बेला क्रान्तिकारीहरूले आफ्नो क्याम्प कसरी सुदृढ बनाउने, कसरी जनतामा विश्वास जगाउने र क्रान्तिकारी विकल्प खोजिरहेका लागि भरपर्दो आधार दिने भन्ने चुनौती क्रान्तिकारी शक्तिहरूका सामु विद्यमान छ । सिङ्गो पार्टी नवप्रतिक्रियावादमा पतन भए पनि माकेभित्र अझै पनि केही इमानदार कार्यकर्ता हुनसक्ने कुरालाई इन्कार गर्न नसकिएझैँ क्रान्तिकारी भनिएकाहरूभित्र पनि फोहोरमैला र झारपात पतिङ्गरहरू छैनन्/नहोलान् भन्न सकिँदैन  । यथार्थ के हो भने  फोहोरमैलाहरू देखिने गरी नै सतहमा तैरिएका छन् । यस्तो बेला आन्तरिक शुद्धीकरण  नगरीकन अत्तर छर्किएकै भरमा विकल्प भन्दै  अन्य समूहबाट कार्यकर्ताहरू खास समूहमा हामफाल्लान् जस्तो लाग्दैन । आफैँभित्र शुद्धीकरण र क्रान्तिका लागि वैचारिक-राजनीतिक दिशाबोधका साथै व्यावहारिक रूपमै तत्परताबिना क्रान्तिकारी ध्रुवीकरणको नयाँ गति निर्माण हुने कुराले समय लिनु स्वाभाविक छ । तर छरिएर रहेका क्रान्तिकारीहरू ध्रुवीकृत भएर नयाँ क्याम्प निर्माण गर्नुपर्ने यथार्थ “अनिवार्य आवश्यकता” बनेको कुरामा भने कुनै विवाद छैन ।
 
माओवादी नाम राखेर प्रतिक्रियावादी चिन्तन र व्यवहारको प्रयोग गर्दै माओवाद र माओवादी  आन्दोलनकै बदनाम गरेको र जनतामा भ्रम उत्पन्न गरिरहेको अवस्थामा माके र एमालेबीचको एकतापछि “वामपन्थी”, “कम्युनिस्ट” भनेर उनीहरूले भ्रम उत्पन्न गर्ने दुस्प्रयास गरि नै रहनेछन् तापनि माओवाद र माओवादीका नाममा जनतालाई भ्रमित पार्ने कार्यको एउटा पाटोको भने अन्त्य हुने छ । यस अर्थमा एमाले-माके  एकता स्वागतयोग्य छ भन्नुपर्छ । उनीहरूले  क्रान्तिकारी वामपन्थीहरूलाई सिध्याउन आफूहरूसित भएका सबै किसिमका शक्ति, साधन र स्रोत, पार्टीगत र सत्तागत दुवै  रूपहरूको प्रयोग  गर्न सक्छन्  तापनि इतिहासबाट  शिक्षा लिएर क्रान्तिकारीहरूले हरेक चुनौतीको सामनाका लागि आफूलाई हरमेसा सचेत र सजग राख्नु आवश्यक छ । चुनौतीले क्रान्तिकारीहरूलाई बलियो बनाउँछ र यसको थालनी सङ्घर्षका गतिविधिको निरन्तरतासँगै  क्रान्तिकारी केन्द्र निर्माणको प्रक्रियाबाट गर्नु आवश्यक छ ।

 
भिडियो फिचरview all