menu

ताजा समाचार

माओवादी आन्दोलन र उत्तराधिकारीको सङ्कट

डा. ऋषिराज बराल
आजभोलि औपचारिक-अनौपचारिक कुराकानीहरूमा अमुक पार्टीमा अमुकपछि के होला, अमुक पार्टी कसरी अघि  बढ्ला जस्ता सन्दर्भहरू चर्चाको विषय बन्ने गरेको पाइन्छ । सरसरती हेर्दा यो प्रसङ्ग, अमुकपछि अमुक पार्टीको नेतृत्वमा को आउँछ भन्ने प्रश्न जस्तो लागे पनि यसको सन्दर्भ अलि व्यापक र गहन छ ।

कम्युनिस्ट आन्दोलनमा नेतृत्व विकास र उत्तराधिकारीको प्रश्न पात्रको मात्र प्रश्न नभएर सैद्धान्तिक-वैचारिक प्रश्न पनि हो । आन्दोलनमा यसको कति ठूलो महत्त्व रहेछ भन्ने कुरा रूस र चीनको इतिहासबाट बोध गर्न सकिन्छ । माओले भन्नुभएझैँ,  “सर्बहारा वर्गको क्रान्तिकारी उद्देश्यका निम्ति उत्तराधिकारीहरू सङ्घर्षका बीचबाट अगाडि आउँछन् र क्रान्तिको महान् आँधीबेहरीमा खारिन्छन् ।”

उत्तराधिकारी निर्माण हुने र गर्ने काम निकै जटिल छ ।  यो कसैलाई कसैले व्यक्तिगत रूपमा घोषणा गर्ने कुरा होइन र कसैलाई टीका लगाएर दिने कुरा पनि होइन । वास्तवमा जिम्मेवारी दिने काम निकै गम्भीर छ भन्ने कुरा रुसी-चिनियाँ इतिहासले प्रस्ट पारेको छ ।  स्टालिन बाँचुन्जेलसम्म क्रुस्चेभले कहिल्यै पनि  स्टालिनप्रति विमति राख्ने पात्रका रूपमा आफूलाई प्रस्तुत गरेन । तर स्टालिनको मृत्युपछि  तुरुन्तै आफ्नो सच्चा अनुहारका साथ अगाडि आयो । माओले पनि आफूले विश्वास गरेका थुप्रै  पात्रहरूबाट धोका खानुभयो । 

लेनिनपछि को उत्तराधिकारी  हुने भन्ने कुरामा निकै तिकडमहरू हुन थालेका थिए । अक्टोबर क्रान्तिका हकदार नेता लेनिन होइन, आफू हो भनेर पुस्तक लेख्ने ट्रट्स्की अनेक झालझेल गरेर त्यो ठाउँ लिन चाहन्थ्यो । जियोनेभ र कोमोनेभ पनि त्यसको आशा गर्थे र भित्रभित्रै ट्रटट्स्कीसित मिलेर षड्यन्त्रका तानाबाना बुनिरहेका हुन्थे । पहिले लेनिनमाथि गोली प्रहार भयो । लेनिन बिरामी हुनुभयो । उहाँको सुरक्षालाई कडा गरेर भेटघाटलाई समेत सीमित गरिएको थियो । लेनिनको मुत्युपछि त्यो ठाउँ लिन चाहने स्टालिन विरोधीहरूले स्टालिनका विरुद्ध क्रुप्सकायको समेत कान भरेर अनेक षड्यन्त्र गर्न थालेका थिए  । बिरामी लेनिनलाई स्टालिनका विरुद्ध उक्साए । तर यथार्थ त्यस्तो थिएन । त्यसमा निकै ठूलो षड्यन्त्रको तारतम्य  भएको कुरा पछि क्रुप्सकाय आफैँले महसुस गरेपछि सबै खुलस्त भयो । स्टालिन सही हुनुहुन्थ्यो र माओले भनेझैँ लेनिनको सच्चा उत्तराधिकारी हुनुहुन्थ्यो भन्ने कुरा समयले साबित गर्यो ।

माओले चीनको स्थिति र उत्तराधिकारीको समस्यालाई राम्ररी बुझ्नुभएको थियो । पेङ ते हुइको नियत बुझेपछि लिन प्याओलाई सैन्य क्षेत्रमा अघि सार्नु भयो र तर उसले पनि गद्धारी गर्यो  । लामो अवधिसम्म माओको कार्यालय टिममा रहेका चेन पोताले समेत माओलाई धोका दिए । रूसमा क्रुस्चेव आइसकेपछि माओ एकातिर स्टालिनको पक्षमा दृढताका साथ उभिनुभयो  भने अर्कातिर चीनमा टाउको उठाउन थालेका दक्षिणपन्थी अवसरवादीहरूका विरुद्ध सङ्घर्ष नगरे चीनको क्रान्तिकारी इतिहासको निरन्तरता जोगाउन सकिँदैन भन्ने निष्कर्षमा पुग्नुभयो । यस यथार्थलाई वहाँले यसरी व्यक्त गर्नुभयो :

“अन्तिम विश्लेषणमा सर्वहारा वर्गको क्रान्तिकारी उद्देश्यका निमित्त उत्तराधिकारीहरूलाई तालिम दिने प्रश्न सर्वहारावादी क्रान्तिकारीहरूको अघिल्लो पुस्ताले सुरु गरेको मार्क्सवादी-लेनिनवादी क्रान्तिकारी उद्देश्यलाई अगाडि बढाउन सक्ने व्यक्तिहरू पछि होलान् कि नहोलान्, पार्टी र राज्यको नेतृत्व सर्वहारावादी क्रान्तिकारीहरुको हातमा रहला कि नरहला, हाम्रा सन्ततीहरू मार्क्सवाद-लेनिनवादले निर्दिष्ट गरेको सही बाटोमा हिँडलान् कि नहिँडलान्, अथवा अर्को शब्दमा भन्दा हामीले चीनमा ख्रुस्चोवी संशोधनवादलाई पैदा हुनबाट रोक्न सकौँला कि नसकौँला भन्ने प्रश्न हो । यो हाम्रो पार्टी र मुलुकको जीवनमरणसँग जोडिएको अत्यन्त महत्त्वपूर्ण प्रश्न हो । सय, हजार अझ भनौँ दशौँ हजार वर्षका लागि यो सर्वहारा क्रान्तिकारी उद्देश्यका निम्ति आधारभूत महत्वको प्रश्न हो ।”

 चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति यसैको उपज थियो । तर यसले ठोस परिणाम ल्याउनुअघि नै माओको निधन भयो । हुवा को-फेङको मध्यपन्थी अवसरवाद र दब्बुपनले त्यहाँ पनि धोका दियो । वास्तवमा हुवा को-फेङलाई अघि सार्नु माओको बाध्यता थियो । युद्धबाट आएको एउटा पुस्ता उमेरले नेतृत्व हाँक्न नसक्ने अवस्थामा पुगिसकेको थियो ।  लि साउचि र देङहरूको जमात कहिले माओको मृत्यु होला भनेर अवसर खोजिरहेको थियो । वैचारिक दृष्टिले सक्षम र सांस्कृतिक क्रान्तिमा अगुवा नेताहरूका रूपमा विकसित च्याङ चुङ चियाओ, याओ ऐन युवान लगायतका केही युवाहरूलाई माओले अगाडि ल्याउनु भए पनि तिनले पार्टीमा आफ्नो भूमिका विस्तार गरिसकेको स्थिति थिएन । फलस्वरूप तत्कालको विशिष्ट स्थितिलाई हेरेर माओले हुवा को-फेङलाई अघि सार्नुभएको थियो । माओले त्यतिबेरको समस्या र सम्भावित स्थितिबारे आफ्नो अन्तिम चिठीमा सबै कुरा लेख्नुभएको छ ।

यस्ता सबै कुरालाई ध्यानमा राखेर माओले सङ्गठन, नेतृत्व निर्माण र जिम्मेवारीका सम्बन्धमा  “एकमा तीन” अर्थात् पाको, मध्य र युवा पुस्ताको संयोजनको सिद्धान्त तथा नीति अघि सार्नुभएको थियो  ।   कम्युनिस्ट आन्दोलनमा सङ्गठनाम्मक दृष्टिले ‘एकमा तीन’ को सिद्धान्त एकदमै सही छ । यो नै सङ्गठन तथा उत्तराधिकारी निर्माणका सम्बन्धमा मालेमावादी मान्यता हो ।

नेपालको माओवादी आन्दोलनमा पनि ‘एकमा तीन’ को नीतिमा जोड दिइनुपर्ने कुरा उठाइए पनि  व्यवहारमा त्यसको ठोस कार्यान्वयन भएको चाहिँ पाइएको छैन ।  कतिपयले क्रान्तिमा विचार, अध्ययन केही चाहिँदैन, डनका पछिपछि कुद्ने केटाहरूको जमात जस्तै युवाहरूको जमात भए पुग्छ, क्रान्ति विचारले होइन, युवाहरूको साथ लिएर लड्ने कार्य हो भनेर बुझेको जस्तो  देखिन्छ । त्यस्ता पात्रहरू वैचारिक महत्वको न्यूनीकरण गर्दै मार्क्सवादको ठाउँमा उमेरवादलाई स्थापित गर्न खोज्छन् । त्यसैगरी  अर्काथरीहरू युवाहरू भनेपछि आवश्यक भन्दा बढी सन्देहको आँखाले हेर्छन् । यसका पछाडि आफनो भोगाइ तथा अनुभववादले पनि काम गरेको हुनसक्छ ।

प्रचण्डवालाहरूको कुरा छाडौँ । त्यहाँ साम्राज्यवादी-विस्तारवादी शक्तिले कसलाई अछि सार्छ, त्यो नै भोलिको उत्तराधिकारी हुन्छ । सबै कुरा उतैबाट निर्धारित हुन्छ । मोहनविक्रम समूहमा पनि उनीपछि त्यो सङ्गठनको स्थिति के होला भन्ने टिप्पणी गरिएको पाइन्छ । यही कुरा बैद्य समूहका सम्बन्धमा पनि हुने गर्छ । सङ्गठन परिचालन र क्षमताको पहिचानका सम्बन्धमा समस्या रहे पनि र प्रभाववादी मोहबाट मुक्त हुन नसके पनि मोहन वैद्य विचारका नेता हुन् र नेपालको अहिलेको माओवादी आन्दोलनमा सबैभन्दा इमान्दार नेता हुन् भनेर इमानदारीका साथ भन्नुपर्ने हुन्छ । यस अर्थमा बैद्यपछि वैचारिक दृष्टिले नेपालको माओवादी आन्दोलनको स्थिति के होला भनेर टीकाटिप्पणी हुनु तथा चिन्ता जाहेर हुनु स्वाभाविक छ । विप्लवले वैचारिक आयामको दरिलो जग निर्माण गर्न र अनुभव र आन्दोलनको लामो यात्रा पार गर्न बाँकी छ र तीन वर्षको स्थिति हेर्दा उनले विश्वास र भरोसाका  भरपर्दा आधारहरू प्रस्तुत गर्न सकेको अनुभूत हुँदैन ।
 
मोहन बैद्यमा नेतृत्वका सन्दर्भमा ‘एकमा तीन” को धारणाप्रति विमति देखिँदैन । प्रचण्डबाट विद्रोह गरेर आएपछि युवा पुस्ताका अगुवाहरूबाट उनले जे भोगे, यसबाट उनमा युवा पुस्ताप्रति विश्वास घट्तैगएको  कुराको आकलन गर्न सकिन्छ ।  विप्लवले “बुढाहरूबाट क्रान्ति सम्भव छैन” भनेर बराबर भन्ने गरेझैँ ‘एकमा तीन” को माओवादी धारणाप्रति  पनि उनमा विश्वास नरहेको कुरा उनको पार्टी संरचनाको स्वरूपबाट प्रस्ट हुन्छ । युवा पुस्ताप्रति निरपेक्ष रूपमा अविश्वास गर्ने र पाको पुस्ताको अनुभव र वैचारिक सम्पतिलाई हाँसोको विषय बनाएर बेवास्ता गर्ने दुवै प्रवृत्ति बेठीक छन् । यस मामलामा विप्लवमा पाको पुस्ताप्रतिको अविश्वास र अध्ययन-चिन्तनप्रतिको उपेक्षा अलि बढी नै भएको बोध हुन्छ । माओलाई अगाडि राखेर हेर्दा यस किसिमको प्रवृत्ति क्रान्तिमा विचार, अनुभव र अध्ययनप्रतिको वितृष्णा को उपज हो । वास्तवमा यो व्यक्तिवादी प्रवृत्तिको द्योतक हो  ।

अबको स्थिति के हो त ?

क्रान्तिप्रति चिन्ता र हुटहुटी भएका, तर भौतिक रूपबाट सक्रिय हुन नसक्ने कमरेडहरूले पद ओगटेर बस्नु सट्टा भौतिक रूपमा बढी सक्रिय हुनुपर्ने जिम्मेवारी छाडेर वैचारिक आलेखहरू तयार पार्ने, वर्ग सङ्घर्षको इतिहास र संस्मरण लेखेर क्रान्तिको आवश्यकता र महत्त्वका साथै  यसको दीर्घकालीन चरित्रका बारेमा पछिल्लो पुस्ताका साथै  पछिका लागि पनि सामग्रीहरू तयार पारिदिन सके राम्रो हुन्छ । अहिलेको मात्र कुरा गर्दा पनि कार्यकर्ताको के कुरा नेता भनिएकाहरूमा समेत अध्ययनचिन्तन, लेखनपढ्नमा रूचि घट्तैगएको देखिन्छ । कतिपय सन्दर्भमा त वितृष्णा नै भएजस्तो देखिन्छ । सबै अनलाइन माध्यमका चारहरफे समाचार र घन्टाउके फोटाहरू छाप्न र फेसबुकमा रमाउन थालेको पाइन्छ ।  ७० पुग्न थालेका र पार्टीमा विशेष जिम्मा लिएका कमरेडहरूसमेत बिहानदेखि बेलुकासम्म फेसबुकमा व्यस्त रहेको र घण्टाघण्टामा आफ्ना फोटाहरू अपडेट गरेको देख्दा उदेक लाग्छ । यस किसिमको नेतृत्वबाट के आशा गर्ने ? यो एकदमै गम्भीर कुरा हो ।
 
उदाहरण  माथिबाट प्रस्तुत हुनु पर्ने हो ।  अध्ययन-चिन्तन गर्नु भनेको महा अपराध र महा सजाय ठान्ने पछिल्लो पुस्ताको कुरा मात्र नभएर, कम्युनिस्ट “पार्टीहरू” का नेता हौं  भन्ने मध्यपुस्ताका पात्रहरू समेतमा  पनि वैचारिक समस्या बडो गम्भीर किसिमको देखिन्छ । अबको क्रान्ति र उत्तराधिकारीको कुरा गर्दा मध्यपुस्तालाई  हेर्नुपर्ने हुन्छ र यसलाई वैचारिक किसिमले सक्षम बनाउनु पर्ने हुन्छ । यसका लागि भौतिक रूपबाट सक्रिय हुन नसक्ने कमरेडहरूले अभिभावकको भूमिका खेल्नु आवश्यक छ । युवा नेता भनिएकाहरूले पनि हान्ने राँगोको शैली अँगालेर र  एक्लेवीर प्रवृत्ति देखाएर होइन, आफ्नो अध्ययनको आयाम विस्तार गर्न र  वैचारिक स्तर उकास्नका लागि अग्रज पुस्ताको वैचारिक नेतृत्वमा आफूलाई प्रशिक्षित गर्नैपर्ने हुन्छ । युवा नेता हुनुको अहङ्कार राख्ने कतिपयका भनाइ, तिनका दस्ताबेज सुन्दा र पढ्दा तिनलाई मार्क्सवादको सामान्य ज्ञान पनि नभएको बोध गर्न सकिन्छ । यस्तो नेताबाट क्रान्तिको नेतृत्व हुन्छ भनेर कसरी आशा र विश्वास गर्न सकिन्छ ? विचारको दरिलो जग नभएको नेता तलसम्म जरा नफैलिएको सिलित्त भएर बढेको रुखजस्तै हुन्छ, जसले  सामान्य आँधी  पनि थेग्न सक्तैन, ढल्छ ।
 
हामी आफूलाई माओवादी आन्दोलनसित जोड्न चाहन्छौँ भने माओवादका आधारभूत प्रश्नप्रति हामी प्रस्ट हुनैपर्छ । विचारको महत्त्वलाई आत्मसात गर्नैपर्छ । पाको पुस्ताबाट सिक्नैपर्ने हुन्छ र पाको पुस्ताले पनि युवा पुस्ताप्रति विश्वास गर्नु आवश्यक हुन्छ । यहाँ शङ्का र विश्वासको द्वन्द्वात्मकताको आवश्यकता छ ।  क्रान्तिमा क्षमता र अनुभव दुवैको आवश्यकता पर्छ । अनुभव र क्षमताका सन्दर्भमा माओका निम्न भनाइप्रति हामी गम्भीर हुनु आवश्यक छ : 

 “केही कमरेडहरूले “सम्पत्ति अनुसार पुस्ताको वर्गीकरण” गर्नुपर्दछ भन्ने सोच्छन् । उनीहरूले, अनुभवलाई मात्र “सम्पत्ति” ठान्दछन् । क्रान्तिकारी अनुभव निकै मूल्यवान वस्तु हो भन्ने हामी मान्दछौँ । यदि एउटा कार्यकर्तासँग अनुभवको यथेष्ट सम्पत्ति छ भने, सामन्यतः कार्यदिशाको प्रश्नमा उसको उच्च चेतना हुन्छ र काममा अझ धेरै अनुभव पनि । त्यसकारण, हाम्रो पार्टीले पुराना कार्यकर्ताहरूलाई मूल्यवान सम्पत्तिका रूपमा हेर्छ । परन्तु, यदि एकातिर अनुभवको सम्पत्ति र अर्कोतिर प्रतिभा र योग्यतालाई तुलना गर्ने हो भने अघिल्लो चाहिँ दोस्रो उत्तममा पर्दछ । हामीले अनुभवलाई अति धेरै महत्त्व दिनु हुँदैन, यो क्षमता र योग्यताभन्दा माथि होइन । यदि हामीले पुस्तालाई तिनीहरूको “संपत्ति” का आधारमा “वर्गीकरण” गर्यौं भने हामीले कार्यकर्ताको “क्षमता” र “योग्यता” तिर होइन, बरु कार्यकर्ताको “संपत्ति” र उनीहरू कुन “पुस्ता”का हुन् भन्नेतिर मात्र हेरेको हुनेछ र यसरी मजदुर र गरीव तथा निम्न-मध्यम किसानको बीचबाट उत्कृष्ट क्षमताहरूलाई छान्न र तिनीहरूलाई नेतृत्वदायी पदमा राख्न असम्भव हुनेछ, धेरै प्रतिभाहरू बिग्रेर जानेछन् र पार्टीको उद्देश्यले धोका खाने छ । हामीले “सम्पत्ति” का आधारमा पुस्ताको “वर्गीकरण” गर्ने गलत दृष्टिकोणलाई पूरै त्याग्नुपर्छ र साहसपूर्वक नयाँलाई प्रोत्साहित गर्नुपर्दछ ।”

सही हो, क्रान्तिकारी पार्टीमा काम गर्नु भनेको सरकारी जागिर खाएजस्तो ''मैले यति वर्ष काम गरें, म यति वर्षको भएँ, मेरो स्वत: प्रमोसन हुनुपर्छ " भने जस्तो होइन । काम गर्न नसक्नेहरू, क्षमता नभएकाहरू तल पनि झर्नुपर्छ ।  एकपल्ट माथि गएपछि सधैं माथिको माथि हुने भन्ने कुरा हुँदैन ।  यहाँ, वैचारिक दृढता, क्षमता, क्रियाशीलता र समर्पणभाव र इमान्दारीको प्रश्न अगाडि आउँछ । साथै  प्रस्ट हुनु पर्ने कुरा के हो भने उमेर र क्षमता अलगअलग कुरा हुन् । युवा हुँदैमा सबै कुरामा क्षमतावान हुन्छ भन्ने पनि होइन । युवाहरूसित सिक्ने र आफूलाई खार्दै र तिखार्दै लाने समय र अवसर हुन्छ भन्ने कुरा मात्र हो । र यो कार्य अग्रजहरूको प्रशिक्षण र आन्दोलनमा सक्रिय सहभागिताबाट नै सम्भव हुन्छ ।
 
एकातिर बढ्दो दक्षिणपन्थी प्रवृत्ति र अर्कोतिर फेसबुके रोमान्टिक प्रवृत्तिबाट माओवादी आन्दोलनलाई जोगाउन नसके माओवादी भन्ने नाम त रहला, तर सही अर्थको माओवादी आन्दोलन इतिहासको विषय बन्नेछ । अग्रजहरूबाट सिक्ने र अभिभावकत्व बोध गर्ने प्रश्न, विचारको महत्त्वलाई आत्मसात गर्ने प्रश्न  व्यक्तिको निजी रुचि अथवा  चाखको विषय नभएर आवश्यकताको विषय हो । उत्तराधिकारी निर्माण गर्ने प्रश्न र 'लाल र निपुण' को संयोजन गर्ने प्रश्नमा गम्भीरताको अभाव हुनु र देखिनु भनेको सङ्गठनको प्रश्नमा मात्र नभएर विचारको प्रश्नमा पनि विसर्जन निम्त्याउनु हो । त्यसपछि पार्टीको नामअघि कम्युनिस्ट पार्टी लेखिएला, माओवादी पनि लेखिएला, क्रान्तिकारी पनि लेखिएला,  तर कम्युनिस्टहरूको पार्टीचाहिँ नरहला । नेपालको माओवादी आन्दोलनको स्थिति हेर्दा यस किसिमको स्थितिको सम्भावना टडकारो रूपमा देखिएको छ । यो नेपाली क्रान्तिप्रति चिन्ता र चिन्तन गर्ने सबैले आत्मसात गर्ने विषय हो ।

यस अर्थमा अहिलेको सन्दर्भमा ‘एकमा तीन’ को माओवादी मान्यतालाई आधारभूत आवश्यकताका रूपमा लिएर विचार, सङ्गठन, नेतृत्व र नीतिहरूको कार्यसम्पादन गर्नु आवश्यक छ  । अनुभववाद र उमेरवाद दुवै त्याज्य छन् । क्रान्तिप्रति जिम्मेवारहरूले क्रान्तिकारी कार्यकर्ता र क्रान्तिकारी उत्तराधिकारी निर्माणको प्रश्न, क्रान्ति सम्पन्न गर्ने प्रश्नसित अभिन्न रूपमा गाँसिएको छ भनेर आत्मसात गर्नु जरुरी छ ।
०००

भिडियो फिचरview all